पछिल्लो पाँच वर्षको सडक दुर्घटनाको तथ्याङ्कले नेपालको ट्राफिकिङमा ठूलै खाडल छ भन्ने देखाउँछ । देशभर १२ हजार ८ सयको मृत्यु हुनु गतिलो सङ्केत होइन । यसबीचमा ८० हजार घाइते भएका छन् । यो तथ्याङ्कले सडक विपद्को कहालीलाग्दो अवस्थाको चित्रण गरेको छ । नेपालमा सडक दुर्घटना विपद्को रुपमा चित्रण हुनु नै दुःखद् स्थिति हो । हामीले बाढीपहिरो, भूकम्प, सुनामी, हावाहुण्डरीलाई विपद्का रुपमा बुझ्दै आएका थियौँ तर, पछिल्लो समय विश्व स्वास्थ्य सङ्गठनले यसलाई विपद्को रुपमा परिभाषित गरेको छ । नेपालको स्थिति विपद्कै तहमा पुगेको छ । यसलाई आजैबाट नियन्त्रण र न्यूनीकरणका लागि पहल नथाल्ने हो भने भोलि संसारका १० मृत्युमध्ये पहिलो कारण सडक दुर्घटनाबाट हुने निश्चित छ । आज संसारमा हुने मृत्युहरुमा टप १० भित्र परेको स्थिति छ तर, पहिलो नम्बरमा नआउला भन्न सकिन्न । सुधारको खाँचो सबैबाट हुन आवश्यक छ ।

सडक दुर्घटना हुने विविध कारणहरु छन् नेपालमा । नेपाल भौगोलिक रुपमा, सडकको अवस्था, यात्री तथा यात्रुको चेतनास्तर, सवारीको अवस्था आदि आदि कारणबाट नेपालमा सडक दुर्घटना बढिरहेका छन् । यसबाट आर्थिक क्षति पनि राम्रैसँग भइरहेको छ । मानवीय क्षतिको अवस्था त माथि नै चित्रण गरिसकिएको छ । ट्राफिक व्यवस्थापनका लागि यथेष्ट ट्राफिक प्रहरी छैनन् । देशभर ६३ लाखको हाराहारीमा सवारी साधन दर्तामा छन् । यी सवारीका लागि पर्याप्त सडक छैन । साँघुरो सडकमा गुडाउनुपर्ने अवस्था त्यसमाथि पनि यात्रुमा हुने ज्ञानको कमीका कारणले पनि सडक दुर्घटना कारक बनिरहेको छ । जथाभावि रोक्ने प्रवृत्ति, क्षमताभन्दा बढी भारबहन गरिने, सवारीको चेकजाँच तथा मर्मतमा ध्यान नदिने, चालकको लापरबाही आदि कारणले गर्दा नेपालमा सडक दुर्घटनाको भयावह स्थिति बनेको हो । यसका लागि सबै पक्षले ध्यान दिने हो भने न्यूनीकरण गर्न नसकिने भन्ने छैन । तर, यसतर्फ सम्बन्धित पक्ष, सरोकारवाला पक्षको ध्यान गएको पाइँदैन । यसलाई सामान्य रुपमा लिँदा आकलन गरेभन्दा बढी क्षति भइरहेको छ । अब ढिला नगरी यसतर्फ बढीभन्दा बढी सचेतना जगाउन जरुरी हुँदै गएको छ ।

नेपालमा अनेकन समस्याहरुका कारण सडक दुर्घटना बढिरहेको छ । यसले मानवीय तथा आर्थिक क्षति नराम्रोसँग गरिरहेको छ । कतिका परिवार नै उजाडिएको छ भने कति जीवनभरि अपाङ्ग जीवन बाँच्न बाध्य छन् । यस्ता समस्यालाई हल गर्नका लागि आधारभूत तह र माध्यामिक तहमा अध्यापन गराउन जरूरी छ । हाम्रोजस्तो देशमा सडकको गति मापन गर्ने यन्त्रहरु ठाउँ ठाउँमा जडान गर्न आवश्यक छ । तीव्र गतिमा सवारी गुडाउनेहरुलाई सोही आधारमा कारबाही गर्ने वातावरण तयार पार्नुपर्छ । विश्वका विभिन्न देशहरुमा यस्ता अभ्यासहरु नभएका होइनन् । एसियाका विभिन्न मुलुकमै यस्ता अभ्यासहरु छन् । सडक सुधारमा पनि सरकारको ध्यान जान जरूरी छ । कस्तो सडकमा कति भारबहन क्षमताको सवारी गुडाउने भन्ने रणनीति पनि लागू गर्नुपर्छ । त्यसलाई कार्यान्वयन गराउनेतर्फ पनि सरकार चनाखो हुनुपर्छ । सरकारको संयन्त्र ट्राफिक प्रहरीमार्फत् यस्ता गतिविधि नियन्त्रण गराउनुपर्छ । ट्राफिक प्रहरीको जनशक्ति पनि थप्नुपर्छ । सडक अनुशासन पालना गराउनका लागि नागरिकहरुलाई पनि बढीभन्दा बढी सचेतना, तालिम दिने अवस्था सिर्जना गरिनुपर्छ । समस्याको समाधान गर्नेतर्फ सबैले पाइला चाल्न आवश्यक छ । यात्रु, स्थानीय, ट्राफिक प्रहरी, चालक, सह–चालक, सवारी धनी, सरोकारवाला पक्ष, सरकार चनाखो नभई यो समस्या हल गर्न सकिन्न । त्यसकारण सबैको भूमिका अपरिहार्य छ ।