धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–९ मा मगर र तामाङ समुदायको संस्कार, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले भावी पुस्तासम्म जगेर्ना गर्न दुईवटा छुट्टाछुट्टै दाहसंस्कार स्थल निर्माण थालिएको छ । 

मगर समुदायका अगुवाहरूको पहलमा मगर दाहसंस्कार स्थल बनाउन थालिएको पाख्रीबास नगरपालिका–९ का वडाध्यक्ष सम्झना आले मगरले जानकारी दिइन् । उनले पाख्रीबास–९ को सहयोग र स्थानीय मगर समुदायको सक्रियतामा हातेमालो गरेर काम अगाडि बढाइएको छ । दाहसंस्कार स्थल निर्माण गर्न विशेषगरी वैदेशिक रोजगारीमा रहेका मगर समुदायका युवाहरूले आफ्ना दिवङ्गत आमाबुबाको स्मृतिमा आर्थिक सहयोग पठाएर निर्माण कार्य थालिएको छ ।

दाहसंस्कार स्थल निर्माण गर्न ९ नम्बर वडा कार्यालयले तीन लाख ५७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै पाख्रीबास–९ र धनकुटा नगरपालिका–१० मा पर्ने सङ्गमस्थल धर्मशालामा तामाङ समुदायले पनि दाहसंस्कार स्थल निर्माण गरेका छन् । तामाङ समुदायका अगुवाहरूको पहलमा बौद्ध दाहसंस्कार स्थल निर्माण गरिएको विष्णु मोक्तान तामाङले जानकारी दिए । दाहसंस्कार स्थल निर्माण गर्न स्थानीय प्रत्येक घरधुरीले आर्थिक सहयोग साथै श्रमदान पनि गरेको स्थानीय अगुवा जयबहादुर मोक्तानले जानकारी दिए । तामाङ बौद्ध दाहसंस्कार स्थल निर्माणका लागि चार लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको वडाध्यक्ष सम्झना आलेले बताइन् ।

तामाङ समुदाय र मगर समुदायको छुट्टाछुट्टै स्थानमा बौद्ध दाहसंस्कार स्थल निर्माणले सकारात्मक सन्देश दिएको दाहसंस्कार निर्माण उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर मोक्तान तामाङले जानकारी दिएका छन् ।