स्नाने दाने जपे होमे स्वाध्याये पितृकर्मणि
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

अर्थात्स् नुहाउँदा, जप स्नान गर्दा, दान गर्दा, पाठ–पूजा, पितृ कार्यमा समेत प्रयोग हुने बहुपयोगी कुशलाई हिन्दु धर्मावलम्बीहरूले महत्त्वका साथ हेर्दछन् ।

वैदिक सनातन हिन्दु संस्कारमा कुश एउटा अत्यन्त महत्त्वपूर्ण सांस्कृतिक र धार्मिक महत्त्वको पवित्र वनस्पति हो, जसको वैज्ञानिक महत्त्व पनि प्रमाणित भइसकेको छ । वैज्ञानिक भाषामा Eragrostis cynosuroides भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारिलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पति कुशको जराबाट विभिन्न प्रकारका औषधी पनि बनाइन्छ । परापूर्व कालमा पाठशालामा अध्ययनरत शिष्य शिष्याहरूको परीक्षा लिने क्रममा कुशको धारिलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो । यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्थ्यो, उसलाई अब्बल मानिन्थ्यो । कुश वैदिक सनातन संस्कारको देव कर्म र पितृ कर्म दुवैमा अनिवार्य वनस्पति हो ।

कुशको प्रमाणित वैज्ञानिक महत्त्व
एउटा वैज्ञानिक प्रयोगका क्रममा एक मुठ्ठी कुशलाई विकीरण माँझमा राख्दा कुशले सम्पूर्ण विकिरण आफूबाट परिवर्तित गरेको पाइयो । यस प्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यवहारिक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिक रूपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औँठी र अन्य सांस्कृतिक प्रयोगमा एकपछि अर्को पीढीले हिन्दु धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्छ । दाहिने हातको औँलामा कुशलाई औंठीका रूपमा प्रयोग गर्दा वातावरणमा भएका गलत तरङ्ग र विकिरणहरू निस्तेज गर्ने विश्वास र विज्ञान तः प्रमाणित सिद्धान्तहरूले स्पष्ट पार्छन् ।

मातृ देवो भव ।
पितृ देवो भव ।।
गुरू देवो भव ।।।
अर्थात्स् आमा, बुवा, गुरु सबै भगवान् हुन् ।


कुशे औँसी
आज औँसी अर्थात् चन्द्रविनाको चूक झैँ अँध्यारो रात, आजको दिन बिहानै कुशलाई घरमा भित्र्याइन्छ । कुशको महिमालाई श्रीमद्भागवत गीता, गरुड पुराण, अथर्व वेद र विष्णु पुराण मासमेत वर्णन गरिएको छ । हिन्दु धर्मको दैनिकी र संस्कारहरू अत्यन्तै वैज्ञानिक छन्, गीता र वेद नै आविष्कारका जननी हुन् । आधुनिकताको खोल ओढेर सनातन संस्कारउपर खिस्सीट्यूरी गर्ने जमातले पनि सनातन संस्कार र व्यवहारिक पक्षलाई घनीभूत आत्मसात् गर्न थालेका छन् ।

बुवाको मुख हेर्ने औँसी
कुशे औँसीलाई बुबाको मुख हेर्ने औँसी पनि भनिन्छ । आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरियो । गुरु पूर्णिमामा गुरुको सम्झना गरियो भने आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन । संसारमा हरेक बिहान बिस्तारै गएर एउटा साँझमा रूपान्तरित हुन्छ । बिहान उदाएका सूर्य अस्ताउने रीत छ । यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुबा त कहिले छोरा, कहिले आमा त कहिले छोरीको भूमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।

चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुबाको हात समातेर तोते बोली बोल्दै लरबराएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौँ । त्यसरी ताते–ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिन–रात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुबा । सायद, शब्दले व्याख्या गर्न सकिन्न । तिनै बुबाहरूको बुढेसकालको बलियो लाठी बन्न हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होला १ जे होस् आमा–बुबा नै यस जगत का देख्न सकिने भगवान् हुन् । आजका दिन पृथ्वी लोकका सम्पूर्ण पिताहरूलाई स्मृति गर्दै कोटी–कोटी नमन गरौँ ।

‘यी छोराछोरी बढ्लान् । कमाई गर्लान् र दूध भात देलान् मलाई’ भनेर हरेक आमा–बाबुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन् । सानामा आफूले थाङ्ना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरूले पछि हुर्किएर आफूलाई दूध भात अर्थात् मिठो पोसिलो खानेकुरा देलान् र माया गरेर राख्लान् भन्ने आशा हुन्छ ।

हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलाई एकदमै सहज र सरल तरिकाले व्याख्या गरिदिएको छ । हाम्रो माता–पिताप्रतिको जिम्मेवारी हामीले उहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन् प्रगाढ बनाउँछ ।

कुशे औँसीका दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्छन् भने भौतिक रूपमा अस्त भइसकेका पिताहरूलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न धार्मिक पीठ, देवालय जस्तैस् गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णु पादुका तथा सुनसरीको वराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पुगेर स्थान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई सीधा दान गरी आध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्छन् ।-हाम्रो पात्रो