नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्बाङले पहिचानका नाममा लोकतान्त्रिक पद्धतिविरुद्ध गतिविधि नगर्न आग्रह गरेका छन् । 

राष्ट्रिय युवा संघ नेपालको प्रथम कोशी प्रदेश अधिवेशनमा आज प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै नेता नेम्बाङले नेकपा एमालेको विरोध गरे पनि लोकतान्त्रिक विधि पद्धति अपनाउन आग्रह गरे । 

एमाले अध्यक्ष केपी ओली र नेता नेम्बाङ चढेको गाडीमा पहिचानवादीको नाममा ढुंगा प्रहार भएको  उल्लेख गर्दै नेता नेम्बाङले अराजक गतिविधिको गन्तव्य नहुने बताए । 

पहिचानको नाममा अराजक गतिविधि गर्नेहरुले भर्खरै बढुवा भएका लिम्बू थरका डिएसपीको टाउकोमा प्रहार गर्दा १७ टाका लगाउनु परेको र पहिचानवादीकै नामको ढुंगाले राजवंशी प्रहरीको च्यापु खुस्किएको बताए ।  

नेता नेम्बाङले अराजक गतिविधिले पहिचान स्थापित नहुने भन्दै लोकतान्त्रिक विधिबाट माग र अधिकारका लागि आवाज उठाउन आग्रह गरे । ढुंगा प्रहारको घटनामा पीडितको स्वास्थ्य अवस्था बुझ्ने क्रममा आफूले ’पहिचानको ढुंगा खतरनाक हुदो रहेछ’ भन्ने महसुस गरेको बताए ।

‘मलाई विश्वास छैन त्यो पहिचानको ढुंगा हो भनेर, तर पहिचानको ढुंगा खतरनाक हुदो रहेछ,’ नेता नेम्बाङले भने, ‘ताप्लेजुङको लिम्बूलाई लाग्ने, झापाको राजवशीलाई लाग्ने, कस्तो खाल्को ढुंगा हो यो ?’ 

यस्ता गतिविधि कसैको लागि पनि हितकर नभएको नेता नेम्बाङले बताए । लोकतन्त्रविपरीत, मूल्यमान्यताविपरीतका काम जहाँबाट भए पनि रोक्न नेम्बाङले आग्रह गरे ।