विजयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा हिन्दु राष्ट्र अपरिहार्य भएको बताएका छन् ।

सोमबार धरानमा पदयात्रामा सहभागी हुँदै अध्यक्ष लिङ्देनले धर्मनिरपेक्षले देश बर्बाद पार्ने बताए । उनले धर्मनिरपेक्षताको आडमा अबाञ्छित गतिविधि भइरहेको पनि बताए । लिङ्देनले २०६२/०६३ पछि बहुसङ्ख्यक जनताको भावनाविपरीत जबरजस्ती धर्मनिरपेक्षता लादिएकोले त्यसको दुष्परिणाम देखिन थालेको बताए ।

उनले पिण्डेश्वर, बूढासुब्बा, दन्तकाली मन्दिरको भ्रमण गरे । राप्रपा धरानका उपाध्यक्ष रोशन दर्नालका अनुसार धार्मिक भ्रमण र पदयात्रामा लिङ्देन सहभागी भएका हुन् ।

लिङ्देन नेतृत्वको पदयात्रा टोली पिण्डेश्वर मन्दिर, विजयपुरमा रहेका दन्तकाली, बूढासुब्बा मन्दिरमासमेत पुगेको थियो । राप्रपाका सुनसरी जिल्ला सदस्य उद्धव श्रेष्ठले नवीन राप्रपा अभियानमार्फत् अब राप्रपा पहिलाजस्तो नरहेको र नयाँ भएको आभाष दिलाउन सुरु गरेको बताए ।