विराटनगर । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज विहान ९ बजे शपथ ग्रहण गर्ने भएका छन् । उनलाई प्रदेश प्रमुख परर्शुराम खापुङबाट शपथ ग्रहण गराउनेछन्  ।

थापालाई प्रदेश प्रमुख खापुङ्गले हिजो मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । काँग्रेस संसदीय दलका नेता समेत रहेका थापा  कोशी प्रदेशको पाँचौं मुख्यमन्त्री बनेका हुन् । गैर कम्प्युनिष्टबाट मुख्यमन्त्री हुने थापा पहिलो हुन् ।

प्रदेशमा पहिलोपटक नेकपा एमालेबाट शेरधन राई, दोस्रो पटक एमालेकै भीम आचार्य, तेस्रो पटक एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई र चौथोपटक एमालेकै हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए । केन्द्रीय सत्ता बाँडफाँटमा देखिएको अस्थिरताका कारण कार्कीले मुख्यमन्त्री बनेको ६ महिना नपुग्दै पदबाट हट्नुपरेको छ ।

सत्ता गठबन्धनका दलहरू नेपाली कांग्रेस २९, नेकपा माओवादी केन्द्र १२, नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ तथा सभामुख बाबुराम गौतमको समर्थनमा प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई नेपालको संविधानको धारणा १६८ को उपधारा २ बमोजिम बिहीवार मुख्यमन्त्री नियुक्त गरेका हुन् । सभामुखमा निर्वाचित भएपछि दल त्यागको घोषणा गरेका बाबुराम गौतमले पनि थापालाई प्रदेशसभा सदस्यको रूपमा मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

शुक्रबार नै मन्त्रिमण्डल विस्तार गर्ने योजनामा मुख्यमन्त्री थापा रहेका छन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका १–१ जना सांसदलाई मन्त्री बनाएर सानो मन्त्रिमण्डल शुक्रबारै विस्तार गर्ने तयारीमा उनी रहेका छन् ।