विजयपुर । सुनसरी क्षेत्र नं. १ बाट स्वतन्त्र सङ्घीय सांसद्को उम्मेदवारी दिएका मातृकाप्रसाद भट्टराईले आफ्ना बुबालाई पालन–पोषण र हेरचाह नगरेको भन्दै धरान नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ ।

साइँला छोरा भट्टराईले अंश लिई हेरचाह नगरेको र बकसपत्रबाट लगेको जग्गा फिर्ता नगरेकाले अन्याय परेको बुबाआमाले दिएको निवेदनमा उल्लेख छ । २०७९ मङ्सिर ४ गतेको सङ्घीय सांसद्मा स्वतन्त्र उम्मेदवारी दिएका भट्टराईविरुद्ध आफ्नै बुबाआमाले हेरचाह नगरेकाले उजुरी दिएका हुन् ।

मातृकाका बुबा कृष्णप्रसाद भट्टराईले धरान उपमहानगरपालिकाको न्यायिक समितिमा न्यायको लागि २०८० जेठ ३१ निवेदन दिएका हुन् । निवेदक कृष्णप्रसादले आफूसहित ३ जनालाई पालन–पोषण गर्ने भनेर बकसपत्र गरी जग्गा दिएको बताए ।

उनले भने, ‘सय वर्षकी आमा र श्रीमतीसहित तीन जना छौँ । पालन–पोषण गर्ने भनेर जग्गा दियौँ । छोरो काठमाडौँ नै बस्छ । हामी यहीँ धरान–६ पानबारीमा बस्छौँ । जग्गा फिर्ता दे भन्दा दिएन । त्यसैले न्यायका लागि निवेदन दिएका छौँ ।’ ४ छोरामध्ये मातृका साइँला छोरा हुन् ।

तीन जना छोराहरूले २०६३ सालअघि नै अंश लिई भिन्न भई अलग व्यवहार गर्दै आएको निवेदनमा उल्लेख गरिएको छ । ‘छोरो मातृका काठमाडौँतिरै बसोबास गर्ने भएकाले अंश लिन बाँकी रहेको अवस्थामा अरू छोरा भिन्न भइसकेको र अव तपाईंहरूको हेरचाह म गर्छु ।

मैले अंश पनि लिएको छैन । मलाई तपाईंहरूको कुनै सम्पत्ति चाहिँदैन भनी घरमा आउने जाने क्रम सुरु भयो । हामी वृद्धावस्थामा पुगेका मानिस भएकाले होला भनी विश्वास गरी मातृकासँग बस्ने निधो गरेको’ न्यायिक समितिमा दिएको निवेदनमा उल्लेख छ ।

तर, छोरा मातृकाले व्यवहार चलाउन केही जग्गा आवश्यकता प¥यो भने तिलरूपा भट्टराईका नाममा रहेको मेरी आमा तुलसा भट्टराई, पत्नी तिलरूपा भट्टराई र निवेदक कृष्ण भट्टराईसमेत अंश भागमा रहेको सुनसरी ३ (ङ) कित्ता नं. ७७८ को ज.वि. ०–११–१२.५ जग्गा २०६२ साल वैशाख २६ गते छोरा मातृकालाई बकस दिएको उल्लेख छ ।

शेषपछि बकसपत्र गर्ने भनेकोमा झुक्याएर बकसपत्र गरिसकेको र सोही मितिमा शर्तनामा लेखी लेखाई दिएको थियो । उक्त जग्गा हाल मातृकाको नाममा श्रेस्ता दर्ता कायम रहेको छ । सो कागजमा मातृकाले मैले तपाईहरूको हेरचाह नगरे वा हेरचाहमा चित्त नबुझे उक्त जग्गा फिर्ता गरी दिनेसम्म शर्तनामाको कागज भएको निवेदनमा उल्लेख गरिएको छ ।

शर्तनामा गरेपनि मातृकाले पुनः अंश मागेपछि निजको अंश भागमा परेको जिल्ला सुनसरी बाँझगरा ३ (ङ) कित्ता नं. १४३६ को ज. वि.०–६–४ जग्गासमेत दर्ता नं. ४६८१ (क) २०७१ पुस १७ गते अंश भरपाइको व्यहोराबाट निजले अंश बुझिलिएको अवस्था रहेको निवेदनमा उल्लेख छ ।

२०७१ पुस १७ मा अंश हात पारिसकेपछि मातृकाले व्यवहार परिवर्तन गरी आफूहरूलाई अपशब्द र गालीगलौज गरी बेवारिसे बनाएको निवेदनमा उल्लेख छ । १८ वर्षसम्म बुबाआमा नहेरेको र २०७९ मङ्सिर ४ गते निर्वाचन सकिएको ४ दिनमा काठमाडौँ गएका मातृका हालसम्म नफर्किएको बुबाआमाले बताएका छन् ।

निवेदनमा छोरालाई लक्षित गर्दै ‘हाम्रो खानेबस्ने अवस्था नाजुक भयो । पकाएर खान पनि सक्दैनौँ, के खाने के लाउने र केले उपचार गर्ने ? भन्दा उसले उल्टो १८ वर्षअघि जे गरेको र खाएको थियो, त्यसैगरी नै खाँदै बस्नू भन्ने जवाफ दिएको’ उल्लेख गरिएको छ ।

नगरको न्यायिक समितिमा निवेदन दिनुअघि २०७९ चैत २६ गते जग्गा फिर्ता गर्न धरान–६ को वडाकार्यालयमा निवेदनसमेत दिएका थिए । वडा कार्यालयमा छलफलमा बोलाउँदा उपस्थित नभएपछि न्यायिक समितिमा निवेदन दिएका हुन् । निवेदनउपर छलफल गर्नका लागि उनी नगरमा उपस्थित भएका छैनन् । उपस्थित नभएपछि नगरपालिकाले पत्राचार गरेको छ ।

धरान नगरले उपस्थितिका लागि ललितपुर महानगरपालिकाले न्यायिक समितिलाई पत्र पठाएको हो । नगरको पत्रअनुसार मातृका अहिले ललितपुर महानगरपालिका–४ को घर नं. ६५९ मा बस्दै आएको उल्लेख छ । यस विषयमा मातृकाप्रसाद भट्टराईलाई ब्लाष्टकर्मीले पटक–पटक फोन गर्दा उठाएनन् भने त्यसपछि फोन अफ गरेका छन् ।