ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले आगामी तीन वर्षभित्र दोभान बजारदेखि गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्रे गर्ने भएको छ ।

जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रूपमा रहेको दोभानदेखि सान्थाक्रास्थित गाउँपालिकाको केन्द्रसम्म कालोपत्रे गरी थप चार वर्षमा वडा नं. ६ नाल्बूसम्मकै सडक कालोपत्रे गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बिहीबार गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त योजनालाई  गौरवको योजनाका रूपमा लिइएको जनाएको छ । कालोपत्रेका लागि एक करोड ५० लाख विनियोजन गरिएको छ । उक्त सडक–खण्डको स्तरोन्नतिका लागि सङ्घीय सरकारले समेत केही बजेट दिएकाले मद्दत मिलेको हो ।

अपुग बजेट व्यवस्थापनका लागि पुनः सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी निरन्तर काम अघि बढाइने गाउँपालिका अध्यक्ष डम्बर हाङ्गामले बताए । सडकको स्तरोन्नतिले सुरक्षित यातायात, आर्थिक अवसर सिर्जना, शिक्षा र स्वास्थ्यजस्ता अत्यावश्यक सेवामा पहुँच वृद्धि हुनाका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने भएकाले गौरवको योजनामा राखिएको उनको भनाइ थियो ।

यस्तै खाम्लुङ, सान्थाक्रा, थिङ्लाबु, थुङ्थाप, खुवाखु हुँदै लेचुवा जानेलगायत गाउँपालिकाभित्रका विभिन्न वडा र बस्तीका सडकलाई पनि स्तरोन्नति गरी बाह्रै महिना सवारी साधन आवत–जावतमा सहज बनाइने गाउँपालिकाले जनाएको छ । 

यसका लागि आवश्यक बजेटको व्यवस्था गरेको गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि स्तरोन्नतिका काम सुरु गर्ने भएको छ । शेर्पा समुदायको बाहुल्य रहेको मेरिङ्देन–२ मैखु हुँदै लिङ्तेप, थुकिमा र नाल्बू जोड्न हिमाली सडक पनि निर्माण गरिने भएको छ ।

गाउँपालिकाले १३ औँ गाउँसभामार्फत् बिहीबार ४४ करोड पाँच लाख ८३ हजारको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।