धरानमा दूरसंचार सेवाको गुणस्तरमा दूरसंचार प्राधिकरण, सेवा प्रदायक र उपभोक्ताको भूमिका विषयक अन्तर्क्रिया  गरिएको छ ।

औपचारिक कार्यक्रममा सरोकारवालाहरुले प्रविधिको उच्चतम प्रयोग गर्न नपाइरहेको अवस्था र प्रविधि प्रयोगबाट सिर्जित दुरुपयोगको उस्तै अवस्था रहेको बारे धारणा राखेका थिए । 

अन्तक्र्रियामा गुणस्तरीय सेवा र सूचना कसरी प्राप्त गर्ने, उपभोक्ताले उपयोग गरिरहेका प्रविधिको अवस्था र अनुसन्धान र विकास गर्नुपर्ने आवश्यक्ताका बारेमा उपस्थितले धारणा राखेका थिए । 

Interaction_NTA_Dharan_blastkhabar (3)

नेपाल पत्रकार महासंघ सुनसरीका तर्फबाट सहसचिव भोला श्रेष्ठले दूरसंचारको उच्चतम प्रयोगमा अझै नेपाली समाज पछि नै रहेको धारणा राखेका थिए ।

धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका प्रमुख काजीराम कार्कीले सूचनाको  सशक्तता र विकसित राष्ट्रहरुले गरेको साइबर सुरक्षा, अपराध नियन्त्रणका विषयमा आम जनमानसलाई सुसूचित गराउनुपर्ने आवश्यक्ता औंल्याएका थिए । 

महिला संजाल धरानकी अध्यक्ष सपना राईले प्रविधिबारे पुराना पुस्ता जानकार नभइरहेको अवस्थामा नयाँ पुस्ताले प्रविधिबाट सिर्जित परिस्थिति प्रत्युत्पादक भएको धारणा राखेकी थिइन् । उनले सूचनाको इमान्दारितापूर्वक प्रयोग गर्नुपर्ने आवश्यक्ता औंल्याइन् । 

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले प्रविधिको प्रयोग सचेत भएर गर्नुपर्ने बताए । वैश्विक नागरिकको  अवधारणामा विश्व अघि बढिरहेका बेला प्रविधिले अपेक्षित फड्को नमार्दा देश पछाडि परेको धारणा राखे । 

औपचारिक कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका नगर उपप्रमुख अइन्द्रविक्रम बेघाले धरानमा फाइबर तारहरुले नगरको सौन्दर्यतालाई विकृत बनाइरहेको बताए । उनले तारहरु हटाउने र नेटकवर्कलाई पनि तीव्र गतिमा अघि लानुपर्ने दूरसंचार प्राधिकरणलाई सुझाव दिए । 

Interaction_NTA_Dharan_blastkhabar (2)

कानुनी र प्राविधिक व्यवस्थापनमा दूरसंचार सेवा प्रदायक संस्थाहरुसँग द्वन्द्व हुने गरेको उल्लेख गर्दै उपप्रमुख बेघाले तार उन्मुलन गर्नेतर्फ सचेत हुनुपर्ने बताए । उनले स्थानीय सरकारले तार काट्दै जाने र मुद्दा खेप्दै जाने अवस्थाको अन्त्य गर्नका लागि प्राधिकरणलाई तार काट्ने अभियानको सुरुवात ट्रायलका रुपमा भए पनि धरानबाटै गर्न सुझाव दिए । 

औपचारिक कार्यक्रमका सभाध्यक्ष तथा नेपाल दूरसंचार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले प्राधिकरणले सेवाको गुणस्तर सम्बन्धमा गरेका गतिविधिबारे जानकारी गराएका थिए । 

उनले उपभोक्ताका गुनासा, स्पिड टेस्ट टुल, मनिटरिङ अफ भोइस एण्ड इन्टरनेट सर्भिस, ड्राइभटेस्ट, टेलिकम पोलिसी रिभ्यू, साइबर सेक्युरिटी बाइ–ल–२०७७ बारे जानकारी दिएका थिए । 

सेवा गुणस्तरका सम्बन्धमा प्राधिकरणका चुनौतीहरु प्रस्तुत गर्दै निर्देशक अर्यालले डिजिटल डिभाइड, अफोर्डाबिलिटी÷ लो–पर क्यापिटा इन्कम, इन्फ्रास्ट्रक्चर सेयरिङ, ल्याक अफ इन्फ्रास्ट्रक्चर इन रुरल एरिया, अपरेश्नल च्यालेन्ज, डिजिटल लिटरेसी विषय चुनौतीका रुपमा रहेको प्रेजेन्टेसन प्रस्तुत गरेका थिए । 

अन्तक्र्रियामा प्राधिकरणको सेवा गुणस्तर, चुनौती र निष्कर्षका बारे प्यानल डिस्कसन आयोजना गरिएको थियो । प्यानलमा इन्टरनेट सेवा प्रदायक संस्था इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसनका फूर्वा तामाङ, नेपाल टेलिकम धरानका प्रमुख प्रशन्न थापा, उपभोक्ता हित संरक्षण मञ्चका बलिन्द्र विक र नेपाल दूरसंचार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालबीच बहस आयोजना गरिएको  थियो । 

Interaction_NTA_Dharan_blastkhabar (4)

बहसमा इन्टरनेट कसरी आउँछ ?, इन्टरनेट सेवा प्रदायकका चुनौतीहरु केके छन्? भन्ने विषयमा प्रश्नोत्तर गरिएको थियो । चुनौतीका बारेमा उत्तर दिँदै सेवा प्रदायकका तर्फबाट फूर्वा तामाङले भौगोलिक अवस्था र विविधता, मूल्यमा अस्वस्थ प्रतिस्पर्धा, सडक, संरचना निर्माणका कारण फाइबरमा अवरोध, विद्युत प्राधिकरणसँग फाइबर भाडामा द्वन्द्व हुने लगायतका चुनौती हुने गरेको जानकारी गराएका थिए । 

नेपाल टेलिकम धरानका प्रमुख प्रशन्न थापाले इन्टरनेट सेवा प्रदान गर्नका लागि परनिर्भरता हाबी हुने गरेको बताएका थिए । उनले फाइबर विस्तार साथै सेवा प्रवाहमा विद्युत प्राधिकरणमा निर्भर हुनुपर्ने अवस्था रहेको बताए । प्रमुख थापाले सबै ठाउँमा जेनेरेटर नहुँदा समस्या हुने, फाइबर काटिने हुँदा सेवा प्रवाहमा चुनौती थपिएको बताए । उनले डेटा सेन्टर स्थानीय स्तरमा नहुँदा सूचनाबिना तार काटिने र गुणस्तरीय सेवामा असहजता हुने गरेको बताए । ब्याकअप पावरको समेत सबै ठाउँमा पहुँच नहुने समस्या रहेको प्रमुख थापाले बताए । 

उपभोक्ताहरु दूरसंचारको उचित व्यवस्थापनमा जोड दिएका थिए । नेचर मिडिया नेटवर्कको आयोजनामा भएको अन्तक्र्रियामा नेपाल दूरसंचार प्राधिकरण प्रस्तुतकर्ता रहेको थियो । औपचारिक कार्यक्रम राजेन्द्र किरातीले सञ्चालन गरेका थिए ।