विराटनगर । भारतबाट अवैधरूपमा नेपालतर्फ बोइलर कुखुराका चल्ला भित्र्याउने क्रम बढेको पाइएको छ । यसअघि जिउँदो कुखुरा र कुखुराजन्य वस्तु तस्करी हुँदै आएको सीमावर्ती क्षेत्रमा पछिल्लो समय ठूलो परिमाणमा चल्लासमेत चोरबाटो हुँदै भित्र्याउन थालिएको हो ।

मोरङको सुनवर्षी नगरपालिका–८ हरिश्चन्द्रगढीस्थित सीमा क्षेत्रमा मङ्गलबार राति सशस्त्र प्रहरीले ठूलो परिमाणमा भारतीय बोइलर चल्ला बरामद गरेपछि यसको पुष्टि भएको हो । धान खेतका आली तथा सहायक बाटो प्रयोग गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएका १ सय ४० कार्टुनमा रहेका करिब ७ हजार चल्ला प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार बरामद चल्लाको अनुमानित मूल्य करिब ७ लाख रुपैयाँ छ । तस्करहरूले १४ वटा भारी बनाएर चल्ला नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सुरक्षाकर्मीले बरामद गरेको उनले बताए ।

“धान खेतका आली र सहायक बाटो प्रयोग गरेर भारतबाट चल्ला ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको हो”–भण्डारीले भने । बरामद चल्ला क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, कुखुरा व्यवसायी तथा जनप्रतिनिधिको उपस्थितिमा नष्ट गरिने प्रहरीले जनाएको छ ।

प्रतिगोटा ४० रुपैयाँसम्म सस्तो
नेपालको बजारमा करिब १ सय रुपैयाँ पर्ने बोइलर चल्ला भारतमा ४० देखि ६० रुपैयाँमै पाइने भएकाले तस्करी हुने गरेको व्यवसायी बताउँछन् । भारतबाट सस्तोमा ल्याएर नेपाली बजारमा बिक्री गर्दा प्रतिगोटा ४० रुपैयाँसम्म नाफा हुने भएकाले सीमावर्ती क्षेत्रमा यसको अवैध ओसारपसार आकर्षक बनेको उनीहरूको भनाइ छ ।

सुनसरी इटहरीका पोल्ट्री व्यवसायी रमेश थापाका अनुसार भारतीय चल्ला तथा कुखुरा चोरबाटो हुँदै नेपाल भित्रिँदा त्यसको प्रत्यक्ष असर नेपाली किसान र व्यवसायीलाई परेको छ । “भारतसँग मूल्यमा प्रतिस्पर्धा गर्न सकिँदैन । खुला सीमाको फाइदा उठाउँदै सस्तोमा चल्ला ल्याएर बजारमा पुर्याउँदा नेपाली किसानले उत्पादन लागतअनुसारको मूल्यसमेत पाउन कठिन हुन्छ”–उनले भने ।

उनका अनुसार अवैधरूपमा चल्ला भित्रिँदा किसानसँगै ह्याचरी, दाना उद्योग, कुखुरा व्यापारी र मासु व्यवसायसम्म प्रभावित हुन्छन् । सीमाक्षेत्रमा निगरानी बढाएर अवैध आयात नियन्त्रण गर्न व्यवसायीले पटक–पटक माग गर्दै आए पनि समस्या कायमै रहेको उनले बताए ।

मूल्यसँगै रोगको जोखिम
भारतीय चल्लाको अवैध आयातलाई व्यवसायीले मूल्य प्रतिस्पर्धाको विषयमा मात्र सीमित नराखी पशु स्वास्थ्यसँगसमेत जोडेर हेर्नुपर्ने बताएका छन् । नेपालमा आयात हुने पशुपन्छी तथा पशुजन्य वस्तुको स्वास्थ्य परीक्षण र क्वारेन्टाइन जाँच अनिवार्य छ ।

पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ र नियमावली, २०५६ ले पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्री आयात गर्दा क्वारेन्टाइन जाँचको व्यवस्था गरेको छ । आवश्यक स्वास्थ्य प्रमाणपत्र नभएका पशु तथा पशुजन्य सामग्रीको प्रवेश रोक्न सकिने कानूनी व्यवस्था छ ।

विराटनगरस्थित पशु क्वारेन्टाइन कार्यालयले जोगबनी, भण्टाबारी नाकाबाट नेपाल भित्रिने पशु तथा पशुजन्य वस्तुको स्वास्थ्य अवस्था र निर्धारित मापदण्ड पूरा भए–नभएको जाँच गर्दै आएको छ । एकदिने चल्लाका लागि समेत स्वास्थ्यसम्बन्धी प्रमाणपत्र आवश्यक हुन्छ ।

तर सीमाक्षेत्रमा खेतका आली, सहायक बाटो तथा अन्य अनौपचारिक बाटो प्रयोग गरेर चल्ला भित्र्याउँदा क्वारेन्टाइन परीक्षणविनै पशुपन्छी नेपाल प्रवेश गर्ने जोखिम रहन्छ । यसबाट कुखुरामा फैलिन सक्ने सङ्क्रामक रोग भित्रिन सक्ने जोखिमसमेत बढ्ने व्यवसायीको भनाइ छ ।

थापाका अनुसार मोरङमा एकैपटक सात हजार चल्ला बरामद हुनु सीमा क्षेत्रमा भइरहेको अवैध कारोबारको एउटा घटना मात्र हुनसक्छ । रातको समयमा हुने ओसारपसार, सहायक बाटोको प्रयोग र बजारसम्म पुगेपछि स्रोत लुकाउने प्रवृत्तिका कारण यस्तो कारोबारको वास्तविक परिमाण पत्ता लगाउन कठिन हुने उनले बताए ।

“एकैपटक सात हजार चल्ला भेटिनु भनेको कारोबारको एउटा दृश्य मात्र हुनसक्छ । सीमा क्षेत्रमा नियमित निगरानी र अवैध आयातको स्रोतसम्म पुग्ने अनुसन्धान आवश्यक छ”–उनले भने । उनका अनुसार अवैधरूपमा भित्रिएका सस्ता चल्लाले बजार ओगट्दा नेपाली ह्याचरी र किसानले उत्पादन गरेको चल्लाको बिक्री प्रभावित हुन्छ । त्यसले किसानको लगानी, रोजगारी र समग्र पोल्ट्री व्यवसायमा असर पार्न सक्ने उनी बताउँछन् ।

सीमाक्षेत्रमा नियमित निगरानी, क्वारेन्टाइन परीक्षणको प्रभावकारी कार्यान्वयन र अवैध आयातमा संलग्न व्यक्तिको स्रोतसम्म पुगेर अनुसन्धान गर्नुपर्ने व्यवसायीको माग छ ।