सुनसरी । नेपाली काङ्ग्रेसले आयोजना गरेको गाउँपालिकास्तरीय सम्मेलनमा चुनावको बेला पार्टीलाई असहयोग गर्ने र अन्तरघाती नेताकार्यकर्तालाई कारबाही हुनुपर्ने आवाज उठेको छ ।

काङ्ग्रेस सुदृढीकरण अन्तर्गत मङ्गलबार कोसी र बुधबार हरिनगरमा आयोजना गरिएको गाउँपालिकास्तरीय सम्मेलन कार्यक्रममा सहभागी वक्ताहरूले पार्टीलाई आवश्यक परेको बेला सहयोग नगर्ने नेताकार्यकर्तालाई कारबाही हुनुपर्ने बताए ।

काङ्ग्रेस कोसी गाउँपालिका सभापति सुलेमान मन्सुरीको अध्यक्षता एवम् सुनसरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेश सांसद् हाजी इस्राइल मन्सुरीको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको थियो ।

काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सदस्य साह जमालले चुनावको बेला पार्टी असहयोग गर्ने नेता कार्यकर्तालाई पार्टीले स्पष्टीकरण सोध्दै कारबाही गर्नुपर्ने माग गरे । ‘काङ्ग्रेस नै भएको आफूलाई देखाउने तर आवश्यक परेको बखत काङ्ग्रेसलाई धोका दिने व्यक्तिहरूलाई कारबाही हुनुपर्छ’–उनले भने ।

पार्टीलाई धोका दिने व्यक्तिहरूलाई कारबाही नभएको अवस्थामा आगामी दिनमा पनि यस्तो कार्य निरन्तर हुनसक्ने सम्भावना यथावत् भएकोले समयमै सही निर्णय लिनुपर्ने जमालको भनाइ छ ।

यस्तै सोही कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाली काङ्ग्रेसका कार्यकर्ता अरुण मण्डलले अन्तरघातीलाई पार्टीले कारबाही नगरेको खण्डमा आफूहरू चुप लागेर नबस्ने बताए ।

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार आयोजित गाउँपालिका सम्मेलनमा बोल्दै काङ्ग्रेस महिला सङ्घ सुनसरी क्षेत्र नम्बर ४ की सभापति अनितादेवी यादवले पार्टीभित्रै बसेर विपक्षी पार्टीसँग आफ्नै पार्टीलाई हराउन षड्यन्त्र गर्ने व्यक्ति उपर कारबाही हुनुपर्ने नेता कार्यकर्ताको माग स्वभाविक भएको बताइन् ।

अन्तरघातीलाई कारबाही हुनुपर्ने माग स्वभाविक भएको देखिएको हुँदा आफूहरू सोहीअनुसार अगाडि बढ्ने योजना रहेको नेपाली काङ्ग्रेस कोसी गाउँपालिका सभापति सुलेमान मन्सुरीले जानकारी दिए । काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति ऐयुब अन्सारीले काङ्ग्रेस पार्टीमा महिलाहरूको उपस्थिति बढ्दै गएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मुस्लिम सङ्घ कोशी प्रदेशका सभापति एवम् कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरीले कार्यक्रममा सहभागी महिला दिदीबहिनीको उपस्थितिबाट सुनसरी क्षेत्र नम्बर ४ मा काङ्ग्रेसको स्थिति प्रमाणित हुने बताए ।