विराटनगर । सातौं संस्करणको विराट गोल्डकप प्रतियोगिता घाटामा गएको छ । 

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले संयोजन गरेको सातौं संस्करणको गोल्डकपमा ८७ लाख १ हजार ४८ रूपैयाँ आयोजकलाई घाटा भएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । घाटा भएको रकम आयोजक समितिका सह–संयोजक शुभासिस कोइरालाले व्यहोर्ने जानकारी गराएको छ । २०७९ चैत ९ देखि १६ गतेसम्म सहिद मैदानमा फ्रडलाइटबाट भएको रात्रिकालीन गोल्डकपमा १ करोड ८७ लाख ३४ हजार १२ सय ४८ रुपैयाँ खर्च भएको छ । आम्दानी १ करोड ३३ हजार १ सय भएको सह–संयोजक कोइरालाले जानकारी दिए ।

मुख्य प्रायोजकबाट ८ लाख, प्रायोजकबाट ४ लाख, सह–प्रायोजकबाट ४ लाख, पार्टनर्स प्रायोजकबाट ६ लाख ७५ हजार, टिकट बिक्रीबाट ४ लाख १५ हजार ८ सय १० रुपैयाँ, विराटनगर महानगरपालिकाबाट १ लाख २० हजार, सामाजिक विकास मन्त्रालयबाट १ लाख २० हजार, राष्ट्रिय खेलकुद विकासबाट १ लाख २० हजार रुपैयाँ आम्दानीमा देखाइएको छ । 

पुरस्कार वितरण खर्च ३४ लाख ९३ हजार, ट्रफी, मायाको चिनो ४ लाख ६७ हजार ५ सय, खेलाडी यातायात खर्च ४१ लाख ९७ हजार पाँच सय, पोसाक खर्च ४ लाख ४२ हजार ३ सय ४० रुपैयाँ गरी १ करोड ८७ लाख ३४ हजार १ सय ४८ रुपैयाँ खर्च देखाइएको छ । सातौं संस्करणको विराट गोल्डकपको विजेता विराटनगर सिटी फुटबल क्लब भएको थियो । फाइनलमा भारत केरलाको लुका सकर क्लबलाई हराउँदै घरेलु टिम विराटनगर सिटीले उपाधि जितेको थियो ।