धनकुटा । वर्तमान सरकारले राष्ट्रघाती काम गरेको भन्दै नेकपा एमाले जिल्ला कमिटी धनकुटाको जनसङ्गठन समन्वय संयन्त्रले शुक्रवार  धनकुटा बजारमा विरोध प्रदर्शन गरेको छ । 

उनीहरूले विभिन्न प्लेकार्ड सहित नाराबाजी गर्दै धनकुटा बजारको विभिन्न भागको परिक्रमा गर्दै अखण्ड भारतको नक्साको विषयमा वर्तमान सरकार निरीह र लाचारी भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले वर्तमान सरकारले चालेको अनेकौँ राष्ट्रघाती कदमको विरोध गरेका छन् ।

बजार परिक्रमा गर्ने क्रममा मदन चोकमा आयोजित कोणसभालाई नेकपा एमालेका नेता एवं जनसङ्गठन प्रमुख शिव आङ्लाले सम्बोधन गर्दै वर्तमान सरकारले चालेको राष्ट्रघाती कदमको भण्डाफोर गर्न विरोध प्रदर्शन आयोजना गरिएको स्पष्ट गरे । उनले भने–‘वर्तमान सरकारले रेशम चौधरीलाई दिइएको आम माफीले दण्डहीनता बढेको र कानुनी राज्यको उपहास भएको छ ।’ 

उनले विरोध प्रदर्शन राष्ट्रघाती नागरिक विधेयक प्रमाणीकरण विरुद्ध आम नागरिकलाई थाहा दिनको लागि विरोध प्रदर्शन आयोजना गरिएको थप स्पष्ट पारे । उनले भुटानी शरणार्थी प्रकरणका भ्रष्टाचारीहरुलाई कडा भन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिए । बजार परिक्रमा पछि धनकुटा–६ भीमनारायण चोकमा आयोजित कोणसभालाई राष्ट्रिय युवा संघ नेपाल धनकुटाका अध्यक्ष प्रविण पोख्रेलले सम्बोधन गरेका थिए ।

विरोध प्रदर्शनमा नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रमणी पराजुली, प्रचार विभाग प्रमुख सावित्रा राई, सचिवालय सदस्य नैन विश्वकर्मा लगायत नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।