विजयपुर । ‘अखण्ड भारत’ मा नेपालको नाम भएको स्थान राखेको भन्दै धरानमा विरोध भएको छ । युवाहरू अखण्ड भारतको नक्साबाट नेपालको नाम हटाउन माग गरेका छन् ।

बिहीबार धरानमा युवाहरूले ‘अखण्ड भारत’ बाट नेपालको नाम हटाउन माग गर्दै विरोध गरेका हुन् । ‘अखण्ड भारत’ मा लुम्बिनी र कपिलवस्तु नाम भएका स्थान राखिएको एउटा भित्तेचित्र भर्खरै भारतको संसद् भवनमा राखिएको छ । नेपालको स्थानको नाम राखेको भन्दै धरानमा विरोध भएको हो ।  युवाहरूले प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।

ठाकुरबहादुर कार्कीको नेतृत्वमा धरानका युवाहरूले नेपालका कपिलवस्तु, लुम्बिनी र विराटनगर लेखिएको नक्सा राखेकाले हटाउन माग गर्दै विरोध गरेको अर्का युवा अरमान अलीले जानकारी दिए । उनीहरूले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको  नागरिकता विधेयकको पनि विरोध गरेका छन् । उनीहरूले नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गरेका छन् ।

उनीहरू भारतीय विस्तारवाद मूर्दावाद, गठ्ठे प्रचण्ड सरकार नागरिकता विधेयक प्रमाणीकरण रद्द गर, अखण्ड भारतको नक्साबाट नेपाली भूमिको नाम तुरुन्त हटा, देशको सीमा मिच्दा नदेख्ने, नबोल्ने प्रचण्ड सरकार राजीनामा देलगायतका प्लेकार्ड बोकेका थिए । विरोध प्रदर्शनमा रोमन चापागाईं, अनाज जोशी, हेमन्त ढकाल, सुरज राई, निरञ्जन यादव, हरि कार्की, ख्यामप्रसाद फुयाललगायतको उपस्थिति रहेको थियो ।

b4

b1

b2