विराटनगर । कोशी प्रदेश नाम खारेजीको माग राख्दै आन्दोलनको क्रममा निषेधित क्षेत्र तोडेपछि पक्राउ परेका २७ जना पहिचानवादी नेता तथा कार्यकर्ताहरू रिहा भएका छन् ।

आइतबार विराटनगरस्थित देवकोटा चोकबाट पक्राउ परेका २७ जना पहिचानवादी नेता तथा कार्यकर्ताहरू मङ्गलबार साँझ रिहा भएका हुन् । यसरी रिहा हुनेहरूमा अशोक चेम्जोङ, खड्क लिम्बू, कुलप्रसाद लिम्बू, शुकराज लिम्बू, शुकराज थेबे, सञ्जीव लिम्बू, ताराकुमार लिम्बू, मनकुमार थेगिम, आरभी लिम्बू, प्रयास बान्तावा राई, नवीन पोमु, प्रदीप लिम्बू, सीताराम राई रहेका छन् । त्यस्तै सन्तोष सम्बाहाम्फे, जेबी साँवा, दुर्गा मगर, मनकुमार लिम्बू, शङ्कर लिम्बू, अमृत राई, प्रमोद लिम्बू, सुमन केरुङ, पदम खेवाङ, रोशन लिम्बू, छविरमण सार्की, कुसुम राई, राजभक्त लिम्बू र मनकुमार माखिम रिहा भएका छन् ।

रिहा भएका पहिचानवादी नेता तथा कार्यकर्र्ताहरूलाई वडा प्रहरी कार्यालय विराटनगरअगाडि फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए । उनीहरूले कोशी प्रदेश नाम खारेज गरी पहिचानको आधारमा पुनः नामकरण नभएसम्म आन्दोलन जारी रहने बताए । प्रदेश १ पुनः नामकरण सङ्घर्ष समितिले आज (बुधबार) पनि विराटनगरमा शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरूले आज गर्ने भनेको आमहड्ताल भने फिर्ता लिएका छन् । पक्राउ परेका पहिचानवादी नेता तथा कार्यकर्ताहरू रिहा भएपछि आमहड्तालको कार्यक्रम फिर्ता लिए पनि शान्तिपूर्ण आन्दोलन भने जारी रहेको पहिचानवादी नेता अर्जुन जम्नेली राईले जानकारी दिए ।

‘पक्राउ परेका पहिचानवादी नेता तथा कार्यकर्ताहरू वार्तापछि रिहा भएका छन्’ उनले भने, ‘कोशी प्रदेश नाम खारेज गरी पहिचानको आधारमा पुनः नामकरण नभएसम्म आन्दोलन भने जारी रहन्छ ।’ नेता तथा कार्यकर्ताहरू रिहा भएपछि उनीहरूले कोशी प्रदेश नाम खारेज गरी पहिचानको आधारमा पुनः नामकरण गर, पहिचान विरोधी होसियारलगायतका नाराबाजी गरेका थिए ।

सङ्घर्ष समितिले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै आइतबारको आन्दोलनका क्रममा प्रहरीले ९० जनालाई धरपकड गर्नुका साथै गोली, ढुङ्गा, लाठी प्रहारबाट २५ भन्दा बढी सख्त घाइते बनाएको जनाएको छ । प्रहरीले अस्पतालमा उपचार गराइरहेका घाइतेसमेत गरी ८६ जनालाई गरिफ्तार गरेको भए पनि वार्तापछि रिहा भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेका नागरिक उन्मुक्ति पार्टी एकीकृतका उपाध्यक्ष अशोक चेम्जोङ्ग लिम्बुलगायतका २७ जना मङ्गबलार रिहा भएका हुन् ।

आन्दोलनको क्रममा पदमकुमार लिम्बू ‘लाजेहाङ’ सहिद भइसकेको र प्रहरीको गोली प्रहारबाट घाइते गजेन्द्र फागो उपचाररत रहेको जानकारी दिँदै सङ्घर्ष समितिले प्रहरी दमनबाट १ सय ५० भन्दा बढी घाइते भएको जनाएको छ ।