विराटनगर । सङ्घीय सरकारले ल्याएको आर्थिक वर्ष २०८०/०८१ को बजेटमा कोशी प्रदेशका उद्योगी व्यवसायीहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरूले बजेट सुन्दा उद्योगी व्यवसायीको हितमै रहेको बताएका हुन् ।

निजी क्षेत्रका सङ्घ–सङ्गठनहरूले आगामी आर्थिक वर्षका लागि आएको बजेट सकारात्मक भएको प्रतिक्रिया दिए । उनीहरूले बजेट सकारात्मक रहेको तर, कार्यान्वयन भने चुनौतीपूर्ण देखिएको प्रतिक्रिया दिए ।

यसअघिका वर्षहरूमा भनेअनुसार कार्यान्वयन नहुँदा नै सरकारले बेला–बेलामा त्यसको अपजस लिनुपरेको थियो । भनाइमा बजेट राम्रो ल्याए पनि यसको कार्यान्वयन पक्ष फितलो रहेकोले बजेट कार्यान्वयनमा लैजानुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बजेट सरसर्ती हेर्दा राम्रो रहेको बताए । बजेटले  पूर्व–पश्चिम राजमार्ग चार लेनको बनाउनु, सन् २०२३–०३३ लाई पर्यटन दशक अभियान चलाउनु, आगामी आ.व. लाई युवा उद्यमशीलता वर्षको रूपमा मनाउनु, स्टार्ट अप व्यवसायको प्रवद्र्धन गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीयरूपमा स्तरोन्नति गर्ने, विदेशी लगानी भिœयाउन लगानी सम्मेलन गर्ने, नयाँ कम्पनी दर्तामा कुनै शुल्क नलिने, विराटनगर भन्सारमा पार्किङ र गोदाम घर निर्माण आदिमा बजेट विनियोजन हुनु सकारात्मक भएको बताए । उनले भने, ‘तर, विराटनगरको रिङरोड, विशेष आर्थिक क्षेत्र तथा प्रदर्शनीस्थलको बारेमा मौन हुनु, निर्यातको अनुदान रकम कम हुनु, ढुङ्गा–गिट्टी निर्यात गर्न दिने नीति सकारात्मक देखिँदैन ।’

उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले समग्रमा बजेट मध्यमस्तरको भएको प्रतिक्रिया दिए । ‘स्वदेशी उद्योगका वस्तुहरूको प्रवद्र्धन गर्न विराटनगरमा प्रदर्शनस्थलको उद्योगी व्यवसायीहरूले माग गर्दै आएका थियौं । तर, यसपालिको बजेटले पनि समेट्न सकेन’ उनले भने, ‘यो दुःखद् पक्ष हो ।’ बजेटको अर्को राम्रो पक्ष भनेको हाइड्रोपावर रहेको उनले बताए । करको दायराको विषयमा अहिले केही भन्न सक्ने अवस्था नभएको उनले बताए ।

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले सरकारले लिएका केही नीतिका कारण अर्थतन्त्र चलायमान बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘बजेटको कार्यान्वयन प्रमुख विषय हो तर, आयात खुलाको नीति राम्रो छ । जग्गाको कित्ताकाट खोल्नुले पनि अर्थतन्त्र चलायमान हुन्छ । नेपालमा त्रुटिगत कुरा भनेकै कार्यान्वयनको समस्या हो ।’ उनले विकास निर्माणको कामलाई कडाइ गर्ने नीति लिनु सकारात्मक भएको प्रतिक्रिया दिए ।

उद्योगी महेश जाजूले कर्णप्रिय बजेट आए पनि आफूहरूको चासो कार्यान्वयनतर्फ नै रहेको प्रतिक्रिया दिए । उनले भने, ‘आगामी दिनमा के कसरी कार्यान्वयन हुन्छ भन्ने नै प्रमुख कुरा हो । बजेटको पूर्णपाठ आएपछि थप भन्न सकिन्छ । के कस्ता कुरामा कति बजेट थपियो वा कटौती भयो हेर्न बाँकी छ ।’ उनले आर्थिक मन्दीको कुरालाई सम्बोधन गर्ने बजेट आएकोले यसबाट देशको अर्थतन्त्रलाई अगाडि बढाउन मद्दत पुग्ने बताए ।

उद्योगी अनिल शारडाले सरकारले धेरै खर्च नगर्ने प्रतिबद्धता जनाएको र यसले सरकारको पुँजीगत खर्च गर्ने क्षमता झन् कमजोर हुनसक्ने बताए । ‘आयोजनाका प्रमुखहरू फेरबदल नगर्ने कुराले भने सञ्चालित परियोजनालाई निरन्तरता दिन सहयोग पुग्ने देखिन्छ । यो राम्रो पक्ष हो, किनभने यसले आयोजनाहरूलाई निरन्तरता दिन सहयोग पुग्छ’–उनले भने ।

विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउने घोषणा
कोशी प्रदेशको राजधानी विराटनगरमा अवस्थित विमानस्थललाई क्षेत्रीयस्तरको बनाइने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने घोषणा गरेका हुन् ।

अर्थमन्त्री महतले विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरमा विस्तार गरिने बताएका हुन् । यो विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन जनस्तरबाट विगत लामो समयदेखि माग हुँदै आएको थियो ।

यसअघि जग्गा अधिग्रहणको कार्य अघि बढाउन सुरु गरिएको प्रक्रियाबाट सरकार पछि हटेर रोक्का भएको जग्गा फुकुवा गरिदिएको थियो । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणको कार्य भने जारी छ ।