फुटबलको क्षेत्रमा सरकारले बजेट नछुट्याउँदा ‘फुटबल भेट्रान्स’हरु भड्किएका छन् । कोशी प्रदेश फुटबल संघका नवनिर्वाचित अध्यक्ष किशोर राईले अपमानित महसुस गरेको बताएका छन् । 

बजेट विनियोजनमा भएको विभेद र असमावेशिताका लागि देशैभरि संघर्ष गर्ने र फुटबल क्षेत्रको समग्र न्यायका लागि पहलकदमी गर्ने अखिल नेपाल फुटबल संघका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्षसमेत रहेका राईले उद्घोष गरेका छन् । 

धरानस्थित पत्रकार महासंघ सुनसरी हलमा आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष राईले सरकारी बजेटमा सातै प्रदेशमा खेलकुदका लागि नीति, निर्माण र दूरदर्शिता स्पष्ट आउनुपर्ने अपेक्षा गरिएकामा त्यस्तो हुन नसकेको आक्रोश पोखे । 

‘आधुनिक स्पोर्टस्, स्कुल वा एकेडेमी सञ्चालन गर्ने खोइ भिजन ? सातै वटा प्रदेशलाई बजेटले सम्बोधन गर्नु पर्दैन ? क्रिकेटलाई एउटा रंगशाला र विराटनगरमा एउटा रंंगशाला भनेर मात्र हुन्छ ?’ अध्यक्ष राईले भने,‘ यो चाहिं एकदमै अपमानित कुरा हो,  यहाँ फु्टबललाई अपमानित गरिएको छ । फुटबल संसारको लोकप्रिय खेल पनि हो र सबैभन्दा बढी व्यवसाय गर्ने खेल हो, सबैभन्दा बढी युवाहरु समर्पित हुने खेल पनि हो ।’ 

सरकारले फुटबललाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै  अध्यक्ष राईले एकदमै दुःखी भएको प्रतिक्रिया दिए । उनले सरकारसँग बजेटमा पुनर्विचार गर्नुपर्ने र फुटबलको क्षेत्रमा सातै प्रदेशमा आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग राखे ।

धरानमा रात्रि फुटबलका लागि पहल

धरानमा रात्रिकालीन फुटबल प्रतियोगिता सञ्चालन गर्नका लागि प्रयास भइरहेको कोशी प्रदेश फुटबल संघका नवनिर्वाचित अध्यक्ष किशोर राईले बताएका छन् । 

dharan football budget_blastkhabar (2)

‘मैले यो कुरा बारम्बार उठाइरहेको छु, आजै पनि मन्त्रीज्यू आउनु हुने कुरा छ, रात्रिकालीन फुटबलको अवधारणअनुसार  काम गर्ने योजना बनाएका छौं,’ अध्यक्ष राईले भने,‘मुख्यमन्त्रीज्यूसँग पनि १७, १८ गतेका लागि टाइम मिलाउँदैछु, जसरी हुन्छ यो काम गर्छु ।’

धरान उपमहानगरपालिकासँग समेत फुटबलका पदाधिकारीहरुको समन्वयमा आग्रह गर्ने अध्यक्ष राईले बताए । फोर्टलाइटलाई साडे ८ करोड रुपैयाँ पर्ने अध्यक्ष राईले बताए । धरान फुटबलको हब भएकाले यो आवश्यक छ । 

‘१२ महिना भइसक्यो, हेर्नुहोस् हाम्रो रंगशाला खाली भएको छैन, यहाँ क्रेज छ,’ अध्यक्ष राईले भने, धरानमा फुटबलको कति विकास भइरहेको छ भन्ने कुरा मैले भन्दा पनि दर्शक महानुभावहरुले मूल्यांकन गर्नुपर्छ होला जस्तो मलाई लाग्दछ ।’ 

फुटबल विकासका लागि धरानमा प्रयास भइरहेको बताउँदै राईले प्रदेशस्तरीय एककेडेमी र र कोशी प्रदेशको फुटबल संघको कार्यालयसमेत धरानमै रहेकाले यसलाई पनि उपलब्धी मान्नुपर्ने बताए ।

धरानको विकासमा देखिने किसिमको योजना आवश्यक 

धरानबाट निर्वाचित सांसद तथा मन्त्रीहरुले कम्तिमा पाँच वटा देखिने किसिमका काम गरिदिने अध्यक्ष राईले आग्रह गरेका छन् । 

‘हामीले अशोक राईलाई जिताएर पठाएका छौं, उहाँ शिक्षा मन्त्री हुनुहुन्छ, तर पनि क्याबिनेटमा भएको नाताले धरानका तीन–चार वटा योजना मात्र ल्याइदिनु भयो भने धरानको विकास क्रम सुरु हुन्छ,’ अध्यक्ष राईले भने, ‘स्वास्थ्यमा, शिक्षामा, पर्यटनमा खेलकुदमा, बजारमा यी क्षेत्रलाई समेटेर बजेट विनियोजन गरिदिनु पर्छ ।’

यो समयमा धरानको स्थानीय सरकारले विकासका लागि सम्पूर्णलाई जोडेर केन्द्रसम्म लबिङ गर्नुपर्ने अध्यक्ष राई बताउँछन् । ‘विकासको अपेक्षा गर्ने, किन भएन भनेर प्रश्न गर्ने, त्यसका लागि कसरी अगाडि बढ्ने भन्ने छैन,’ अध्यक्ष राईले भने,‘धरान सबैको हो, यहाँ मन्त्री सांसद, पूर्व मन्त्री, पूर्व मेयरहरु छन्, सबैलाई जोड्नु पर्छ, मैलेमात्रै सबै काम गर्नसक्छु भन्यो भने धरान विकास हुँदैन ।’ 

अध्यक्ष राईले धरानका नगरप्रमुखलाई आग्रह गर्दै भने, ‘तपाईंको नेतृत्वमा चाँडोभन्दा चाँडो जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि विज्ञहरुसँग एउटा वर्कसप बसौं, तपाईंको नेतृत्वमा हामी सबै विकासका काम अगाडि बढाउछौं ।’

धरानका नगर प्रमुख हर्कराज राईलाई सम्बोधन गर्दै भने, ‘धरानको समग्र विकासको नेतृत्व गर्नुप¥यो वा, हामीले नेतृत्व गर्यौं भने तपाईंले समर्थन गर्नुपर्यो, साथ दिनुपर्यो, अनिमात्र धरानको समग्र विकास अघि बढ्न सक्दछ ।’ 

अध्यक्ष राईले धरानमा प्याराफिटको निर्माण भइरहेको, स्टेज थप निर्माणका लागि डेढ करोडको कार्ययोजना पेश गरेको बताए । ‘हाल पुँजी नभएकाले थोरैथोरै आउने रकमलाई समेत गुरुयोजनामै समावेश गरेर काम गर्दै जाँदैछौं ।’ 

dharan football budget_blastkhabar (3)

फुटबलमा राजनीति 

कोशी प्रदेश फुटबल संघका नवनिर्वाचित अध्यक्ष किशोर राई सर्वसम्मत निर्वाचित भए । उनका विपक्षमा समेत उम्मेदवार थिए । सर्वसम्मतिको प्रयास स्वरुप राई अध्यक्ष निर्वाचित भए । 

पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा राईले फुटबलमा राजनीति हुन नहुने बताए । 

‘फुटबलमा राजनीति भइसकेपछि हामीले नेताहरुलाई भन्यौं, तपाईंले फुटबल चलाउने हो कि हामीले फुटबल चलाउने हो ?, किनभने हामी त फुटबल संघबाट आएका हौं, फुटबलमा जुन राजनीति भइरहेको छ, त्यो चाहिं हुनुहुँदैन,’ अध्यक्ष राईले भने, ‘आज मैले फुटबलभित्र राजनीति गरेको भए बुढासुब्बा गोल्डकप २५ वर्षसम्म पुग्दैनथ्यो होला, धरान फुटबल क्लब पनि यहाँसम्म पुग्दैनथ्यो होला, किशोर राई पनि यहाँ पुग्दैनथ्यो होला, सबै ठाउँमा राजनीति हुन्छ, तर सबै ठाउँमा राजनीति पनि गर्नु हुँदैन ।’

अध्यक्ष राईले फुटबलमा अझै पनि मान, मर्यादा, अनुशासन रहेको बताए ।