कोशी प्रदेश नामकरणको विरोध गर्ने क्रममा पक्राउ परेका ६५ जनालाई रिहा गरिएको छ । 

कोशी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गर्ने क्रममा पक्राउ २१ जनालाई भने प्रहरीले छाडेको छैन । उनीहरुलाई थप अनुसन्धानका लागि राखिएको बताइएको छ । 

प्रदेशसभा अगाडि भएको प्रदर्शनमा ढुंगामुढा गर्नेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शनका क्रममा १७ जना प्रदर्शनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रदर्शनकारीको ढुंगामुढा प्रहारबाट नेपाल पुलिसका २० जना, सशस्त्र प्रहरीका १६ जना घाइते भएका छन् ।

तोडफोड र ढुंगामुढामा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन ९० सेल अश्रुग्यास प्रहार भएको प्रहरीले जनाएको छ । यस्तै ३८ राउन्ड हवाई फायर भएको मोरङका प्रहरी प्रमुख दीपक पोख्रेलले जानकारी दिएका छन् ।

कोशी प्रदेश नामकरणपछि बसेको पहिलो अधिवेशनलाई अवरोध गर्ने भन्दै नामकरणको विरोधमा आइतबार आन्दोलनरत विभिन्न संघसंस्था र पार्टीहरूले कोशी प्रदेशसभा घेराउ गर्ने कार्यक्रम राखेका थिए । 

आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूलाई प्रहरीले आइतबार बिहानैबाट नियन्त्रणमा लिएको थियो ।

फागुन १७ गते कोशी प्रदेशसभाको २ तिहाइ बहुमतले प्रदेशको नामकरण गरेपछि पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग राख्दै आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा एकजनाको मृत्यु भएको छ । मृतक पदम लिम्बू लाजेहाङलाई संघीय सरकारले सहिद घोषणा गरको छ । 

आन्दोलनरत पक्षले शान्तिपूर्ण आन्दोलनमाथि दमन भएको बताएको छ ।