धरान । चौथो मिस्टर भिजनको उपाधि ६५ केजी तौल समूहबाट सुरेश लिम्बूले जितेका छन् ।

भिजन फिटनेसमा आबद्ध खेलाडीहरूलाई समावेश गरी आयोजना गरिँदै आएको शनिबारको प्रतियोगितामा लिम्बूले उपाधिसँगै १ केजीको प्रोटिनसहित प्रमाण–पत्र प्राप्त गरे ।

त्यस्तै ७० केजी तौल समूहका अविनाश श्रेष्ठ दोस्रो, ६० केजी तौल समूहबाट विजय राई तेस्रो र ५५ केजी तौल समूहबाट राजकुमार तामाङ चौथो भएको भिजन फिटनेसका सञ्चालक केशव श्रेष्ठले जानकारी दिए । उनीहरूले आफ्नो तौल समूहमा विजेता हुँदै ओभरअल राउन्डमा प्रतिस्पर्धा गरेका थिए । यस्तै तेस्रो मिस्टर भिजन विजेता विनोदकुमार नेपालीले आफ्नो प्रदर्शन गरेका थिए । नेपाली गत चैतमा सम्पन्न मिस्टर कोसीको ७५ केजी तौल समूहमा स्वर्ण पदकधारी हुन् ।

प्रतियोगितामा एसियन निर्णायक शिवु मुखिया, कविरराज प्रधानाङ्ग, सीता राई श्रेष्ठ, विक्रम लिम्बू र किशोरलाल उदास निर्णायकका रूपमा रहेका थिए । भिजन फिटनेसमा आबद्ध खेलाडीहरूलाई आगामी दिनमा हुने विभिन्न प्रतियोगिताहरूमा भाग लिन सजिलो होस् भन्ने उद्देश्यले प्रतियोगिता गरिएको सञ्चालक श्रेष्ठले जानकारी दिए । २०६३ सालमा स्थापित फिटनेसले चार समूहमा १५ जना खेलाडीहरूले प्रतिस्पर्धा गरेको जनाएको छ ।

यस्तै कार्यक्रममा मोस्ट मस्कुलर म्यान अनिष श्रेष्ठ, मोस्ट इम्प्रुभम्यान प्रयास गुरुङ र बेस्ट पोजर मछिन्द्र लिम्बू रहेका थिए । विजेताहरू सबैलाई १ केजी बराबरको प्रोटिन, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघालगायतले पुरस्कार वितरण गरेका थिए ।