कोशी प्रदेश सरकारले वार्तामार्फत् समस्या समाधान गर्नुको साटो आन्दोलनकारी माथि दमन गर्ने काम गरेको नेपाली कांग्रेसका सांसद शमशेर राईले आरोप लगाएका छन् । उनले आन्दोलन सडकबाट मात्र नभएर संसदबाट समेत हुने चेतावनी दिएका छन् । 

राजनीतिक मागहरुलाई राजनीतिक ढंड्गले नै हल गरिनुपर्ने प्रदेश सांसद राईले सरकारलाई चेतावनी दिए । 

गत फागुन १७ गते प्रदेशको नाम कोशी नामाकरण गरेपछि पहिचान पक्षधरले आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । सो क्रममा एक आन्दोलनकारी लाजेहाङको मृत्यु भएको छ भने उनलाई संघीय सरकारले सहिद घोषणा गरेको  छ । आजै बजेट अधिवेशनमा शून्य समयमा बोल्ने अधिकांश प्रदेश सांसदले सरकारले वार्ताबाट उत्पन्न समस्याको समाधान निकाल्नुपर्नेमा ध्यानाकर्षण गराएका थिए । 

जसपाकी नेता तथा स्वास्थ्य मन्त्री निर्मला लिम्बूले आफू असुरक्षित भएको अभिव्यक्ति समेत दिएकी थिइन् ।