सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन् । दोस्रो लेगको नवौं चरणअन्तर्गत आइतबार दुई खेलहरु हुनेछन् । 

च्यासल मैदानमा सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटो र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

२१ खेलमा २९ अंक जोडेर पाँचौं स्थानमा रहेको सातदोबाटो आज नवौं जितका लागि खेल्नेछ । २१ खेलमा २६ अंक जोडेर दशौँ स्थानमा रहेको एनआरटी सातौं जितका लागि मैदानमा उत्रिने छ । 

एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । २१ खेलमा २५ अंक जोडेर १२ औं स्थानमा रहेको मनाङ छैटौं जितका लागि खेल्नेछ । २१ खेलमा २६ अंक जोडेर नवौं स्थानमा रहेको थ्री स्टार सातौं जित निकाल्न उद्देश्यले मैदानमा उत्रिने छ । 

यसैबीच लिगअन्तर्गत शनिबार भएका खेलमा संकटा र एफिएफ विजयी हुँदा आर्मी  र मच्छिन्द्रले बराबरी खेलका छन् । च्यासल मैदानमा १–१ गोलको बराबरी खेलेका आर्मी र मछिन्द्रले अंक बाँडे । 

प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता आर्मीले बनाएको थियो । खेलको १७ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६० औं मिनेटमा आर्मीका युद्द शाहीले उपहार गोल दिएपछि मछिन्द्र बराबरीमा पुग्यो । बराबरीसँगै आर्मीले २२ खेलमा ३० अंक जोडेको छ भने मछिन्द्र २२ खेलमा ३६ अंक जोडेर दोस्रो स्थानमा छ ।

यस्तै लिगको शीर्ष स्थानमा रहेको चर्च ब्वाइज युनाइटेडलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार संकटा क्लबले १–० गोलले स्तब्ध बनायो । 

संकटाको जितमा युसुफ एट्रिसले निर्णायक गोल गरे ।

छैठौं जित निकालेको संकटा २२ खेलमा २६ अंक जोड्न सफल भएको छ । खेलसँगै संकटा ११ औं स्थानमा उक्लिएको छ । २२ खेलमा ३८ अंक जोडेको चर्च ब्वाइज शीर्ष स्थानमा छ ।

यसैगरी लिगअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा एपीएफले जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले हराएको छ ।

एपीएफको जितमा अर्मान्ड बिडोम र आवास लामिछानेले एक एक गोल गरे ।

एपीएफको यो आठौं जित हो । एपीएफले २२ खेलमा २९ अंक जोडेको छ ।

हारसँगै जावलाखेलले शीर्ष स्थानको चर्च ब्वाइज युनाईटेडसँगको अंक दुरी कम गर्ने मौका गुमाएको छ । जावलाखेल २२ खेलमा ३४ अंक जोडेर तेस्रो स्थानमा छ ।