विराटनगर ।   पहिलो अन्तर विद्यालय टेबुलटेनिस प्रतियोगिताको उपाधि विराटनगरका तीन वटा विद्यालयले जितेको छ । मलिस् पार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मलिस् क्लबमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट, बुढानिलकण्ठ र  सेन्ट म्यारिज स्कुलले उपाधि जितेको हो । 

प्रतियोगिताको सब जुनियर छात्रतर्फ बुढानीलकण्ठ स्कुलका रिजन पाण्डे प्रथम, सगरमाथा स्कुलका अभिषेक मुखिया दोस्रो भएका छन् । यस्तै तेस्रो मोरङ पब्लिक स्कुलका रिजुल निरौला र सगरमाथाका अमन साह भए । 

सोही समूहको छात्रातर्फ एभरेष्ट स्कुलका कृपा पोखरेल प्रथम, श्री श्री रविशंकर विद्यालयका स्वाति साह दोस्रो र तेस्रो एभरेष्टका बंशिका जैन तथा सेन्ट म्यारिजका आस्था खड्का भइन् । 

यसै गरी जुनियर सिंगल छात्रतर्फ एभरेष्टका सुशान्त मेहता प्रथम, बुढानिलकण्ठका रुपेश श्रेष्ठ दोस्रो भएका छन् । तेस्रो जेसी बाल सदनका रिसित साह र सगरमाथाका सोमु महतो भए । सोही विधाको छात्रातर्फ सेन्ट म्यारिजका आरनबी भट्टराई प्रथम, सोही विद्यालयका अपाला साह दोस्रो, विज्ञता थापा र स्वीकृति भट्टराई तेस्रो भएकी छिन् । 

प्रतियोगिताको छात्र जुनियर तर्फको वेस्ट प्लेयरमा पूर्वाञ्चल विद्या सदनका अस्मिन तामाङ र छात्रातर्फ गोदावरी स्कुलका प्रसन बगाले घोषित भएका छन् । प्रतियोगिताको उदयमान खेलाडी पिटर प्यानका निरजजंग थापा घोषित भए । सोही अवसरमा टेबल टेनिस खेलाडी विश्व बानिया सम्मानित भए । 

विजय हुने खेलाडीहरूलाई विराटनगर १६ का वडाध्यक्ष उद्धव थापा, पार्क क्लबका अध्यक्ष धनकुमार लामा, नेपाली काँग्रेसका नेता राजेश कुमार गुप्ता लगायतले पुरस्कार वितरण गरेका थिए ।