इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–६ का अध्यक्ष सुमन थापाविरुद्ध मिटरब्याजीको आरोपमा उजुरी परेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा वडाध्यक्षविरुद्ध मिटरब्याजसम्बन्धी उजुरी परेको हो । उजुरीमा २० लाख लेनदेनको हिसाबमा वडाध्यक्षले १ करोड ३४ लाख रकम मागेको दाबी गरिएको छ । बिहीबार प्रशासन कार्यालयमा भेटिएकी पीडित इटहरी–३ की मेनुका बस्नेतले वडाध्यक्ष थापाबाट पीडित भएपछि उजुरी गरेको बताइन् । उनले भनिन्, ‘समस्या परेपछि घरजग्गा राखेर २० लाख लिएका थियौँ । थापाले अहिले आएर घरजग्गा नै अब फिर्ता हुन्न भन्न थाले । साँवा र ब्याज गरेर १ करोड ३४ लाख बढी रकम पुग्यो भन्छन् । यो त अति हो । असह्य भएपछि मिटर ब्याजमा उजुरी गरेका हौँ ।’
वडाध्यक्ष थापाले श्रीमती र परिवारका सदस्यसँग मिलेर मिटरब्याजमा पैसा लगाएको उनको भनाइ छ । उनले वडाध्यक्ष उपर मिटरब्याज जोडेर आफ्नो घरजग्गा नै हडपेको व्यहोरासहितको उजुरी दिएको बताएकी छन् । पीडित बताउने पक्षले वडाध्यक्षविरुद्ध मिटरब्याजमा पैसा लगाएर जग्गा हडपेको आरोप लगाइरहँदा वडाध्यक्ष सुमन थापाले भने आफूविरुद्धको उजुरीको विषय झुटो भएको दाबी गरे । थापाले उक्त जग्गा हडपेको नभई किनेको दाबी गरे । थापाले आफूविरुद्ध नियोजित षड्यन्त्र रचिएको प्रतिक्रिया दिएका छन् । तर, कुन प्रकृतिको षड्यन्त्र भन्नेबारे उनले खुलाएनन् ।