भद्रपुर । झापाको बुद्धशान्ति गाउँपालिकामा नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा झडप भएको छ ।

अध्यक्ष ओलीले सम्बोधन गर्ने तय भएको कार्यक्रमस्थलबाहिर प्रहरी र प्रदेशको नाम कोशी राखिएकोप्रति विरोध गरिरहेको पहिचानवादीहरूले उनलाई कालोझण्डा देखाउँदै चर्को नाराबाजी गरेका थिए ।

प्रहरीले कार्यक्रमस्थलमा जान खोज्ने प्रदर्शनकारीहरूलाई एक सय मिटरअगाडि नै रोकेको थियो । सोही क्रममा ढुङ्गामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेकोे जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । प्रदर्शनकारीहरूको ढुङ्गा लागेर इलाका प्रहरी कार्यालय धुलाबारीका इन्स्पेक्टर अनिल माबोहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरूले ओली सवार गाडीसमेत सडकमै रोक्न खोजेका थिए ।  आक्रमणबाट जोगाउन खोज्दा प्रहरीसँग झडप भएको जनाइएको छ  । उनले एमाले अध्यक्षमाथि आक्रमण गर्न खोज्ने पहिचानवादीहरूलाई रोक्न खोज्दा प्रहरीसँग झडप भएको जानकारी दिए । घाइते दुवै प्रहरीको टाउकोमा चोट लागेकोले बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको उनले जनाए । प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मित्र लिङ्देन र बुलेट किराती राई रहेका छन् ।

कालो झण्डा देखाउने कार्यक्रम रहेको र कार्यक्रम सकेर फर्किन लाग्दा युवा सङ्घका कार्यकर्ताहरूले घुसपैठ गरी ढुङ्गा हानेको नेपाल आदिवासी जनजाति महासङ्घ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले दाबी गरे । कालो झण्डा देखाएर पत्रकार सम्मेलनका लागि फर्कन लागेका बेला घुसपैठ भई ढुङ्गा हान्ने काम भएकोे उनले बताए ।

ओलीलाई विरोध गर्न करिब तीन सयको सङ्ख्यामा पहिचानवादीहरू भेला भएका थिए । कार्यक्रमस्थल बाहिर तनावग्रस्त बने पनि एमाले अध्यक्ष ओली कार्यक्रमलाई सम्बोधन गरी पूर्वी पहाडी क्षेत्रमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन इलामतर्फ गए ।