वराहक्षेत्र । कोसी नदीमा नुहाउने क्रममा बेपत्ता भएका थप २ जनाको शव फेला परेको छ ।
वैशाख ६ गते वराहक्षेत्रको मन्दिर नजिकै कोकाह खोला पारीपट्टी कोसी नदीमा नुहाउने क्रममा दमक नगरपालिका ९ नम्बर वडाका २१ वर्षीय न्यौपाने, उनका भाइ १९ वर्षीय रुद्र न्यौपाने र उर्लाबारी नगरपालिका ७ का राजु गुरागाईँ नदीमा डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता भएका उनीहरूमध्ये नवीनको शव घटना स्थल नजिकै करिब ४ घण्टापछि फेला परेको थियो ।
बेपत्ता भएका रुद्र र राजुको शव इटहरी स्थित बराह बाहिनी सशस्त्र र चक्रघट्टिको जनपद प्रहरीको संयुक्त गोताखोर टोलीले ३ दिन पछि फेला पारेको हो ।
इलाका प्रहरी कार्यालय चक्रघट्टिका इन्स्पेक्टर राजेश दत्तका अनुसार रूद्रको शव घटना स्थल नजिकै फेला परेको थियो । उनको शव नदीबाट निकालेर धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागी पठाइएको छ ।
त्यस्तै, अर्का राजुको शव भने वराहक्षेत्र नगरपालिकाको २ नम्बर वडा स्थित आठ आरडीको ठुलो कोसीमा फेला परेको र शव नदीबाट निकाल्ने तयारी भइरहेको दत्तले बताएका छन् ।
नदीमा डुबेर मृत्यु हुने तीनै जना फुपु–मामाका छोराहरू रहेको बताइएको छ । उनीहरू परिवारसहित हजुरआमाको श्राद्धका लागि वराहक्षेत्र मन्दिर आएको मृतकका आफन्तले बताएका छन् ।