इनरुवा । पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकभित्र देखिएको राजनीतिक खिचातानीका कारण जनतामा वितृष्णा बढेर गएकोप्रति आफू जानकार रहेको बताएका छन् ।
सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्व राजा शाहले दलप्रति आम जनतामा बढेको वितृष्णा र चिन्तालाई आफूले सूक्ष्मरूपमा विश्लेषण गरिरहेको धारणा राखेका छन् । पछिल्ला सबै घटनाक्रमका बारेमा आफू जानकार रहेको बताएका शाहले आफूले सबै क्षेत्रबाट जनताको चासो र चिन्तालाई बुझ्ने काम गरिरहेको बताए । उनले भने, ‘राष्ट्र र राष्ट्रियताप्रतिको यस किसिमको चासो सर्वत्र यसैगरी फैलिएर जाओस् ।’
समर्थकहरूको बाक्लो उपस्थितिका बीच आफ्ना धारणा राख्न आतुर देखिएका पूर्व राजा ज्ञानेन्द्रले नागरिकको अभिनन्दन स्वीकार्दै वक्तव्य राखेका थिए । सो क्रममा उनले भने, ‘तपाईंहरूको साथ र माया पाइरहनेमा विश्वस्त छु ।’ यसैगरी माया प्राप्त भैरहोस् भन्ने उनले सन्देश दिएका थिए । ६ मिनेटको समय वक्तव्यमा खर्चिएका पूर्व राजा ज्ञानेन्द्रले स्थिरता र स्थायित्व सही राज्य पद्दति, शान्ति र अनुशासन विना सम्भव नहुने बताए । सो क्रममा उनले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भैरहेको बताए । उनले भने, ‘परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिँदैन । निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्रिय एकताको रक्षा गर्नु छ । राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ र शान्ति र सुशासनका माध्यमबाट चौतर्फी विकासको बाटोमा लाग्नु छ ।’
सम्बोधनको अधिकांश समय मुलुकमा सृजित घटनाक्रम र दलीय खिचातानीतर्फ लक्षित धारणा राखेका पूर्व राजा शाहले जनता सर्वोपरी भएकाले उनीहरूको कुरा बुझेर अघि बढ्नु आजको आवश्यकता भएको बताए । उनले आफ्नो सम्बोधनको अन्त्यमा भने, ‘व्यक्ति, परिवार, समूह, दल वा गुट, उपगुटमा अल्झिएर हैन । अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नु पर्दछ । तपाईंहरू जस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोण जागृत हुँदै जाओस् ।’
इनरुवाको खेल मैदानमा आयोजित नागरिक अभिनन्दनमा करिब ६ हजार बढी समर्थक तथा शुभचिन्तकको सहभागिता रहेको थियो । कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लासँगै मधेश प्रदेशबाट समेत समर्थकहरू भेला भएका थिए । आयोजकले पूर्व राजालाई सडकमा हिँडाउने योजना बनाएको भए पनि प्रशासनले सुरक्षा चुनौतीको कारण देखाएपछि आयोजकले पूर्व राजालाई सोझै कार्यक्रमस्थलमा सहभागी गराएर सोही अनुरूप कार्यक्रमको आयोजना गरेको थियो ।
आयोजकले पूर्व राजाको कार्यक्रमलाई प्रशासनले बन्देजको प्रयास गरेको आरोप लगाए पनि सुनसरी प्रशासनले भने प्रदेशमा जारी पहिचान पक्षधरको आन्दोलन र विभिन्न उच्छुङ्खल समूहको हुल हुज्जत हुनसक्ने अवस्थालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारेको बताएको छ । नागरिक अभिनन्दन कार्यक्रम अवधिभर सुरक्षा निकायले इनरुवासहित आसपासको सुरक्षा व्यवस्था कडा बनाएको थियो । अघिल्लो दिन नै प्रशासनले ‘श्री ५ महाराजाधिराज सरकार’ जस्ता शब्दावली प्रयोग गरी लगाइएका तुल, ब्यानर आयोजकलाई हटाउन लगाएको थियो ।
कार्यक्रममा राप्रपानिकट स्वतन्त्र युवा समाज नेपालका संयोजक दिपेन्द्र कार्की, कमलबहादुर कार्की, मनमोहन अधिकारी, चूडामणि खतिवडाले स्वागत गरेका थिए ।
