धरान । नेकपा (एमाले)को मिसन ग्रासरुट अभियानअन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिकाका तीन सय ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

महालक्ष्मीको १, २, ८ र ९ नम्बर वडाका एक सय ४० जना ज्येष्ठ नागरिकलाई आइतबार सम्मान गरिएको हो । महालक्ष्मी–१ र २ का ७० जना ज्येष्ठ नागरिकलाई कटहरेमा सम्मानित गरिएको छ ।

त्यस्तै ८ र ९ का ७० जना ज्येष्ठ नागरिकलाई निगालेमा सम्मानित गरिएको हो । अन्य वडाका ज्येष्ठ नागरिकलाई पनि सम्मानित गर्ने तयारी रहेको महालक्ष्मी नगरपालिकाका पूर्व प्रमुख पर्शुराम नेपालले जानकारी दिए । उनीहरूलाई सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको छ । एमालेले फागुन ५ गतेबाट देशभर मिसन ग्रासरुट अभियान सुरु गरेको थियो भने अभियान वैशाख ५ गतेसम्म सञ्चालन हुँदै छ ।