पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा जारी चौथो “कुम्मायक गोल्डकप” प्रतियोगिताको चौथो दिनको सेमिफाइनल खेलमा मिक्लाजुङ गाउँपालिका बिरुद्ध ६–५ को जित निकाल्दै याङवरकले फाइनलको यात्रा सुरक्षित गरेको छ ।

कुम्मायक–४ स्थीत पृथ्वी मा.वि.को खेलमैदानमा भएको प्रतियोगितामा मिक्लाजुङलाई ट्राइब्रेकरमा ६–५ को झिनो अन्तरले हराउँदै याङवरकले फाइनलको यात्रा पक्का गरेको हो ।

दुबै टीमले खेलको सुरुवाती समयमा गोल रहित बरावरीमा खेलेका थिए । तर दोस्रो हाफमा याङवरकको तर्फबाट सुमन योङयाले २ र जमिन लिम्बूले १ गोल गरेका थिए । दबावमा परेको मिक्लाजुङको तर्फबाट दिपेश बर्देवाले २ र दिपेन आङदेम्बेले १ गोल गर्दै समान ३–३ को बराबरीमा रोकेका थिए ।

निर्धारित समय बराबरीमा खेलेका दुबै टीमको लागि १५ मिनेट अतिरिक्त समय थप गरिएको थियो । तर कुनै टीमले गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा पाएको अवसरलाई सदुपयोग गर्दै याङवरकले उपाधिका लागि यात्रा शुरक्षित गरेको हो ।

प्रतियोगिताको उकृष्ठ खेलाडी याङवरकका टीम क्याप्टेन सुमन योङ्या घोषित भए । उनलाई यासोक क्याम्पसका क्याम्पस प्रमुख तिल बहादुर खवासले नगद सहित कप, मेडल प्रदान गरेका थिए । प्रतियोगिताको चैत १५ गते हुने फाइनल खेल फाल्गुनन्द गाउँपालिका र याङवरक गाउँपालिका बीच हुने आयोजक कुम्मायक स्पोटिङ क्लवका अध्यक्ष रोहन घिमिरेले बताए । 

प्रतियोगिताको प्रथम हुने गाउँपालिकाले नगद एक लाख ११ हजार एक सय ११ नगद पुरस्कारसहित तीन बर्षे रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । भने उपबिजेता गाउँपालिकाले नगद ५५ हजार पाँच सय ५५ रुपैँयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् ।

yanwarak-gaupalika