धरान । इटहरीस्थित गङ्गाजमुना मुक्तिघाटमा कडा सुरक्षाका साथ पूर्व राजा ज्ञानेन्द्र शाह आएका छन्  ।

सोमबार मुक्तिघाटमा विशेष कार्यले आइपुगेका शाहलाई करिब बीस हजारको हाराहारीमा समर्थक स्वागत गरेका हुन् । पछिल्लो समय नागरिक जीवन व्यतित गरिरहे पनि उनी विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आइरहेका छन् ।

पछिल्लो एक महिनायता झापाको दमकस्थित चिया बगानमा बस्दै आएका उनी घाटको दर्शन गरी पुनः झापा नै फर्किएका थिए । उनका स्वकीय सचिव सागर तिम्सिनाले मुक्तिघाटको दर्शनका लागि मात्रै आएको बताए ।

पछिल्लो पटक राप्रपाका शीर्षस्थ नेताले उनलाई चिया बगान क्षेत्रमै पुगेर भेटघाट गरेका थिए । राप्रपाले हिन्दू राज्य र राजालाई सम्मानित अवस्थामा राखिनुपर्ने आवाज उठाउँदै आइरहेको छ । पूर्व राजा शाहले गत फागुन ७ गतेको ७३ औँ प्रजातन्त्रको दिवसमा देशको अवस्थाबारे चिन्ता व्यक्त गरेका थिए ।

पछिल्लो समय ‘राजा आऊ देश बचाऊ’ खालका नाराहरू पनि लाग्दै आएका छन् । राजनीतिक अवस्थाप्रति नागरिकको अनास्था बढ्दै गएकाले पनि राजावादी संस्था तथा पार्टीहरू सक्रिय बन्दै गएका छन् ।