अष्ट्रेलिया । यहाँस्थित गोल्ड कोस्ट सहरमा सम्पन्न ‘गुर्खास कप २०२३’ को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा गुर्खास किचेनले ८८४८ क्रिकेट टिमलाई ४ विकेटले पराजित गरेको हो ।

दुक्स ओवल मैदानमा भएको फाइनल खेलमा टस जितेर ८८४८ क्रिकेट टिमले पहिले ब्याटिङ गरेको थियो भने पहिलो पारिमा उसले ५३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको गुर्खास किचेनले पनि दिएको लक्ष्य ३ बल बाँकी रहँदा हात पारेको थियो ।

राउण्ड रविन फम्र्याटमा खेलाइएको उक्त प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको थियो । एकदिने प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि प्रज्वल खरेलले हात पारे भने, उत्कृष्ट बलर र ब्याट्सम्यान क्रमशः विशाल पाठक र एभरेष्टले हात पारे । प्रतियोगिताको फाइनलमा ८८४८ अङ्क तालिकाको शीर्ष स्थानमा रही प्रवेश गरेको थियो भने गुर्खासको टोली तालिकामा तेस्रो भई प्लेअफ खेलेर पुगेको थियो ।

प्रतियोगिता अवधिभर मैदानमा नेपाली दर्शकको बाक्लो उपस्तिथि रहेको थियो । खेल अवधिभर आफू नेपालकै कुनै मैदानमा बसी खेल हेरिरहेको अनुभव भएको एक दर्शकले जनाएका छन् । प्रतियोगिताको दोस्रो संस्करणको लागि पनि तयारी भैरहेको र दोस्रो संस्करण अझ आकर्षक हुने आयोजक मानिस भट्टराईले जानकारी दिए ।

यस प्रतियोगिताको मुख्य प्रायोजन सक्सेस एजुकेसन एण्ड भिसा सर्भिसेसले गरेको थियो भने मल्टी डाइनामिक, मिदास फाइनान्स, डेसी टड्का, रसोइ मास्टर, भियतनाम ओइ, अन्नपूर्ण बेभरेज, ८८४८ मःमः हाउस, नेपाली कम्युनिटी गोल्ड कोस्ट प्रतियोगिताको सह–प्रायोजक थिए ।