सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले दुईजना राष्ट्रिय क्रिकेट खेलाडीलाई सम्मान गरेको छ ।

क्रिकेट खेलमार्फत् देशलाई चिनाउन महत्वपूर्ण योगदान दिएको भन्दै उनीहरूलाई एक कार्यक्रमका बीच सुनसरी सदरमुकाम इनरुवामा शुक्रबार सम्मान गरिएको हो । गाउँपालिकाले राष्ट्रिय टोलीका खेलाडी ललित राजवंशी र अन्डर–१९ राष्ट्रिय टोलीका सदस्य दीपेश कँडेललाई जनही नगद २० हजार १ सय रुपैयाँसहित सम्मान गरेको हो ।

दुवै खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिताकुमारी उराँव, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे, सुनसरी युथ क्लबका अध्यक्ष अफजल हुसेनलगायतले नगद र सम्मान–पत्रसहित सम्मान गरेका थिए ।

केही हप्ताअगाडि सम्पन्न अन्डर–१९ विश्वकप छनोटको महत्वपूर्ण खेलमा दीपेशले आफ्नो अन्तिम ओभरमा लगातार तीन विकेट लिँदै नेपाललाई विश्वकपमा छनोट गराएका थिए भने ललितले काठमाडौँमा सम्पन्न वल्र्ड क्रिकेट लिग २ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई ग्लोबल छनोटमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यसैबीच ‘खेल पर्यटन विकासको आधार’ नारासहित आगामी वैशाख तेस्रो साताबाट १ सय बलको नयाँ फम्र्याटमा क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी थालिएको छ । १ सय बलको नयाँ फम्र्याटमा गाउँपालिकाको संयोजन एवम् जिल्ला क्रिकेट सङ्घ सुनसरीको प्राविधिक सहयोगमा सुनसरी युथ क्लबले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

पत्रकार सम्मेलन आयोजना गरी आयोजकले कोसी प्रिमियर लिग नाम दिइएको सो प्रतियोगिता सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ४ मा अवस्थित निर्माणाधीन खेलमैदानमा गरिने आयोजक सुनसरी युथ क्लबका अध्यक्ष अफजल हुसेनले जानकारी दिए । ९९ लाख लागत लाग्ने अनुमान गरिएको सो प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख तथा सर्वोत्कृष्ट खेलाडीलाई २५ हजारसहित शिल्ड, मेडल तथा प्रमाण–पत्र वितरण गरिने आयोजकले जनाएको छ ।