विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नावुन) को १५ औं वार्षिक उत्सवको अवसर पारेर विराटनगरमा निःशुल्क आँखा शिविर आयोजना गरिएको छ ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगरकमिटीले विराटनगर–८ स्थित विराटेश्वर वृद्धाश्रममा निःशुल्क आँखा शिविर सोमबार गरेको हो ।

शिविरमा आश्रममा रहेका ४२ जना ज्येष्ठ नागरिकहरूको आँखा जाँच गरिएको थियो । आँखा जाँच गरिएकामध्ये ११ जना ज्येष्ठ नागरिकहरूमा मोतियाबिन्दु देखिएको दृष्टि रोग विशेषज्ञ डा. वीरेन्द्र रायले बताए । स्वास्थ्य जाँच गरिएकामध्ये ११ जना ज्येष्ठ नागरिकहरूको शल्यक्रिया विराटनगरस्थित हाजी आँखा अस्पतालमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरले जिफन्टसँगको सहयोगमा निःशुल्क गर्ने जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले जानकारी दिए ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको वार्षिक उत्सवमा विराटनगर कमिटीले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ । यो पटकको वार्षिक उत्सवमा सामाजिक कार्य गर्ने उद्देश्यले आश्रममा रहेका ज्येष्ठ नागरिकहरूको निःशुल्क आँखा जाँचसँगै पौष्टिक आहार र ब्युटिसियनहरूले ज्येष्ठ नागरिकहरूको शृङ्गार गरिएको अध्यक्ष भली सुब्बा गुरुङले बताइन् । ‘वार्षिक उत्सवको दिन सामाजिक कार्यअनुसार यो कार्यक्रम आयोजना गरिएको हो’ अध्यक्ष सुब्बाले भनिन्, ‘यस्तो सामाजिक कार्यलाई हामीले निरन्तरता दिँदै अगाडि बढ्नेछौं ।’

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगरकमिटीका सचिव वसन्ती गुरुङले सञ्चालन गरेको कार्यक्रमको प्रमुख अतिथि जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमला रहेका थिए । कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष धमलाले यस्ता सामाजिक काम राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगरकमिटीलेजस्तै अरू सङ्घ–संस्थाहरूले पनि गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्यालले ज्येष्ठ नागरिकहरू बसोबास गर्ने स्थानमै पुगेर राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगरकमिटीले  पुण्यको काम गरेको बताए । कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय सदस्य गङ्गा तामाङ, प्रदेश सचिव कला डाँगी, नावुन विराटनगरकी निवर्तमान अध्यक्ष अतिमा पौडेल पोखरेल, हाजी आँखा अस्पतालका डा. वीरेन्द्र राय, प्रशासन प्रमुख अञ्जनी पोखरेललगायतको उपस्थिति रहेको थियो । नावुन विराटनगरकी उपाध्यक्ष सरिता राईले कार्यक्रमको समापन गरेकी थिइन् ।

विराटनगरमा रहेको हाजी आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा शिविर भएको थियो । शिविरमा आँखा जाँच डा.दिनेश राय र वीरेन्द्र रायले गरेका थिए ।

butai-2