विराटनगर । विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर विराटनगरमा सचेतनामूलक र्याली निकालिएको छ ।

नेपाल डेन्टल एशोसिएसन मोरङको आयोजनामा तथा कोशी अस्पताल र नोबेल मेडिकल कलेजको सहयोगमा विराटनगरमा सोमबार बिहान सचेतनामूलक र्याली निकालिएको हो ।

कोशी अस्पतालबाट सुरु भएको र्यालीले नगर परिक्रमा गरी सोही ठाउँमा आएर सम्पन्न भएको थियो । र्यालीमा दन्त रोग विशेषज्ञ चिकित्सक, काशी हस्पिटलका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

विश्व मुख दिवसको अवसर पारेर हप्ता दिनभरी सप्ताहव्यापी सचेतना मूलक कार्यक्रम गरी मनाउने नेपाल डेन्टल एशोसिएसन मोरङकी महासचिव डा। मिरा आचार्यले जानकारी दिइन् । चैत ६ देखि १२ गतेसम्म सचेतनामूलक कार्यक्रमहरू आयोजना गरी मनाउने तयारी गरिएको उनले बताइन् । सचेतनामूलक कार्यक्रमको सुरुवात र्यालीबाट भएको छ ।

सप्ताह अन्तर्गत ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । विराटनगरसहित मोरङको जुनसुकै डेन्टल हस्पिटल र क्लिनीकहरुमा ज्येष्ठ नगारिकहरुको दन्त चिकित्सकहरूबाट निःशुल्क स्वास्थ्य उपचार हुने उनले बताइन् । यो सेवा एक हप्तासम्म जारी रहनेछ । 

सप्ताहको अन्तिम दिन विराटनगर महानगरपालिका भित्र वृहत् स्वास्थ्य शिविरको तयारी गरिएको छ । शिविरमा आएका बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ ।

‘जनमानसमा मुख स्वास्थ्य सम्बन्धी चेतनाको कमी रहेको पाइएको छ । मुख स्वास्थ्यको महत्त्व बुझाउँदै यसलाई स्वास्थ्य राख्न सचेतना अभियान सुरु गरिएको हो । हाम्रो शरीरको अरू अङ्ग जस्तै मुख पनि स्वास्थ्य राख्नुपर्ने हुन्छ । मुख स्वास्थ्य राख्न सचेतना अभियान सुरु गरिएको हो,’ डा। आचार्यले भनिन् ।