धरान । धरान–१६ स्थित नवोदय विद्यामन्दिर सेकेन्डरी बोर्डिङ स्कुलले शनिबार स्थानीयबासी र अभिभावकलाई लक्षित गर्दै स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शिविरमा २ सय ५० जनाले सेवा लिएको युएन नवोदय हेल्पिङ हेन्डका संयोजक रामबहादुर लिम्बूले जानकारी दिए । नवोदय हालै नयाँ भवनमा सरेको छ । शिविरमा आँखा जाँच तथा मधुमेह तथा उच्च रक्तचापको परीक्षण गरिएको थियो । संयोजक लिम्बूका अनुसार सूर्य आइकेयर धरानको प्राविधिक सहयोग रहेको थियो भने युनिभर्सल पिस फेडेरेसनले संयोजन गरेको थियो । त्यसक्रममा आँखाको निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । कार्यक्रमको उद्घाटन धरान–१६ का अध्यक्ष मुरारी भट्टराईले गरे ।

स्वास्थ्यप्रति लक्षित गर्दै शिविर आयोजना गरिएको स्कुलका प्रिन्सिपल एवम् युएन कलेजका प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । उनका अनुसार विद्यार्थीको साप्ताहिक स्वास्थ्य परीक्षण गरिने जनाए । अभिभावक मोतीबहादुर श्रेष्ठले स्कुलले गरेको शिविरबाट लाभ लिन पाएकोमा खुसी व्यक्त गरे ।