विजयपुर । गोर्खा ट्रेलब्लेजर धरानको पहिलो संस्करणमा पुरुषतर्फ खोटाङका देवराज बस्नेत विजयी बनेका छन् भने महिलातर्फ धरानकी छेन्बीमाया राई विजयी बनेकी छन् ।

शनिबार साढे आठ किलोमिटरको निर्धारित दूरी देवराजले ३१.२५ मिनेटमा पूरा गरे भने छेन्बीले ४३.०७ मिनेटमा पूरा गरी विजयी बनेका थिए । उनीहरू दुवैले जनही १५ हजार रुपैयाँसहित प्रमाण–पत्र, मेडल र ट्रफी प्राप्त गरेका छन् ।

पुरुषतर्फ दोस्रो धरानका प्रशान्त तामाङले ३१.४७ मिनेटमा दूरी पारे । तेस्रो हुने खोटाङका जुनेश खड्काले ३२.३२ मिनेट र चौथो हुने बिर्तामोडका समीर कन्दङ्वाले ३१.४९ मिनेटमा दूरी पार गरे । उनीहरूले क्रमशः नगद १० हजार, ५ हजार र ३ हजारसहित प्रमाण–पत्र, मेडल र ट्रफी प्राप्त गरे ।

महिलातर्फ दोस्रो हुने सङ्खुवासभाकी सुनकला राईले ४४.१३ मिनेट, तेस्रो हुने धरानकी इन्द्रकला लिम्बूले ४४.५२ मिनेट र चौथो हुने धरानकी कल्पना राईले ४६.३१ मिनेटमा निर्धारित दूरी पार गर्दै क्रमशः नगद १० हजार, ५ हजार र ३ हजार रुपैयाँसहित प्रमाण–पत्र, मेडल र ट्रफी प्राप्त गरे ।

स्मृति पार्कमा औपचारिक कार्यक्रम आयोजना गर्दै दोस्रो विश्वयुद्ध लडेका दुई वीर गोर्खाली योद्धालाई सम्मान पनि गरेको थियो । धरान नगरप्रमुख हर्क साम्पाङले तेह्रथुम घर भई हाल धरान–११ मा बस्दै आएका १ सय १ वर्षीय धनदल लिम्बू र सङ्खुवासभा घर भई हाल विराटनगर बस्दै आएका १ सय १ वर्षीय मगबहादुर लिम्बूलाई सम्मान गरे ।

ओखलढुङ्गाका १ सय २ वर्षीय धनसिंह राई भने उपस्थित हुन सकेनन् । वीर योद्धाको सम्मानमा स्थापित गोर्खा सिमेट्री ट्रष्ट नेपालले प्रथम गोर्खा ट्रेल ब्लेजर, २०२३ को अवसरमा योद्धालाई सम्मान गरिएको हो ।