इनरुवा । बिरामी खोज्दै डाक्टर घरदैलोमै पुग्छन् भन्दा धेरैलाई पत्यार नलाला । तर, सुनसरी इनरुवाको हकमा भने यो यथार्थ हो । जहाँ जिल्ला अस्पतालका डाक्टरको टोलीले स्वास्थ्य सेवाको प्रवाहलाई अभियानका रूपमा अघि बढाएको छ ।

जसअनुसार डाक्टरको टोलीले गाउँघरमै पुगेर बिरामीको पहिचान गरी उपचार तथा परामर्श सेवा दिन थालेको छ । मेसु डाक्टर देवराज घिमिरेले थालेको गाउँघरमा डाक्टर अभियानलाई अस्पतालका अन्य डाक्टरले समेत साथ दिएका छन् । जसले जिल्लाका विकट र दूरदराजका टोल तथा बस्तीमा डाक्टरी सेवाको उपलब्धतालाई सहज बनाइदिएको छ ।

स्वास्थ्यमा सबैको समान पहुँच मूल उद्देश्य राखी थालिएको अभियानलाई हरेक हप्ताको शनिबार सञ्चालन गरिने इनरुवा अस्पतालले जनाएको छ । डाक्टर घिमिरेका अनुसार अभियानले विशेषगरी गरिब, दलित र विपन्न समुदायका मानिसलाई स्वास्थ्य सेवाको पहुँचमा जोड्नेछ । घरदैलोमै उपचार सम्भव हुनेलाई ठाउँको ठाउँमै उपचार सेवा दिने गरी थालिएको अभियान बिरामीलाई उपचारका लागि अस्पतालसम्म पुग्ने बानीको विकास गर्नेतर्फ केन्द्रित छ ।

गाउँघरमा डाक्टर अभियानलाई सर्वसाधारण लक्षित स्वास्थ्य सचेतना र सावधानीको खाँचोका रूपमा इनरुवा अस्पतालले अघि बढाएको छ । इनरुवाको वडानम्बर ८ बाट सुरु गरेको अभियानमा पहिलो दिन दुई स्थानमा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा दिइएको इनरुवा अस्पतालले जनाएको छ । सो क्रममा २ सय जनाले स्वास्थ्य जाँच गराएको मेसु डाक्टर घिमिरेले बताए । 

८ नम्बरमा स्वास्थ्य जाँच कार्यक्रमको संयोजन वडाध्यक्ष अशोक साहले गरेका थिए । साहले डाक्टरको टोलीले थालेको घरदैलो अभियानलाई प्रभावकारी कदम भएको प्रतिक्रिया दिए । उनले हरेक वडाको टोल बस्तीमा डाक्टरको उपस्थितिमा स्वास्थ्य जाँचको बन्दोबस्तीका लागि नगरपालिकाले विशेष पहल गर्नु आवश्यक रहेको बताए । जसका लागि उनले आफूले पहल थाल्नेसमेत बताए ।