धरान । नेपाल प्रज्ञा(प्रतिष्ठानका पूर्व कुलपति, साहित्यकार तथा मुन्धुमविद् वैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ ।

कविता–काव्य एवम् मुन्धुमको खोज–अन्वेषण तथा लेखन गरी वाङ्मयका क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले नागरिक अभिनन्दन गर्ने भएको हो ।

आगामी चैत ४ गते धरानमा काइँलालाई सांस्कृतिक झाँकीसहित अभिनन्दन गरिने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । नेपाली काव्यसाहित्यमा आयामेली कविका रूपमा प्रसिद्ध काइँलाले दार्जिलिङमा रहँदा इन्द्रबहादर राई र ईश्वर वल्लभसँग मिलेर नेपाली साहित्यमा ‘तेस्रो आयाम’ नामक आयामेली आन्दोलन सञ्चालन गरेका थिए । उनका ‘वैरागी काइँलाका कविताहरू’ र ‘अन्धा मान्छेहरू र हात्ती’ गरी दुई कविताकृति प्रकाशित छन् ।

यसैगरी लिम्बू भाषा र नेपाली भाषामा गरी मुन्धुमका ११ कृति प्रकाशित छन् । उनले ‘फूल पात पतकर’, ‘महागुरु फाल्गुनन्दका उपदेशहरू तथा सत्यहाङ्मा पन्थको भजनमाला’, ‘समकालीन साहित्य’, ‘जर्नल अफ लिम्बू लिटरेचर एन्ड कल्चर’, ‘राष्ट्रिय भाषाको कविता सँगालो’, ‘लिम्बू ग्रन्थ सूची’, ‘सयपत्री: लिम्बू लोककथा विशेषाङ्क’, ‘लिम्बू भाषा तथा साहित्य विचार’, लिम्बू – नेपाली – अङ्ग्रेजी शब्दकोश’ र ‘किरात मिक्हन साम्लो’, ‘तेस्रो आयाम’ लगायतको सम्पादनसमेत गरेका छन् । उनले साहित्य क्षेत्रमा योगदान पु¥याएबापत साझा पुरस्कार, गोरखा दक्षिण बाहु, रत्न – शोभा – शुभलक्ष्मी मुन्धुम पुरस्कार, जगदम्बाश्री पुरस्कार, राष्ट्रिय कलाश्री सम्मान, आदिवासी गीती सम्मान, हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार, प्रतिभा सम्मान, धरणीधर स्मृति पुरस्कार लगायत पाइसकेका छन् ।

सोही अवसरमा प्रतिष्ठानले वरिष्ठ गायक दीप श्रेष्ठलाई प्रतिभा सम्मान र युवा कवि सुदीप पाख्रिनलाई प्रतिभा पुरस्कार अर्पण गर्ने जनाएको छ ।