धरान । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकाभित्र पर्ने सामुदायिक वनहरूमा बर्सेनि डढेलो लाग्दा मानव बस्तीसँगै जङ्गली जनावरहरूको बासस्थान सङ्कटमा पर्ने गरेको छ ।

ताप्लेजुङमा ठूला आगलागीका घटना र डढेलोका घटना हुँदै आएका छन् । २०६० सालमा भएको आगलागीमा ६० घरमा क्षति पुगेको थियो । जसबाट तत्कालीन समयमा अर्बौं रुपैयाँको क्षति भएको थियो । त्यस्तै नगरभित्र पर्ने सामुदायिक वनहरूमा पनि बर्सेनि डढेलो लागेका कारण चराचरजगत्को बासस्थान सङ्कटमा पर्दै आएको सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्लाका अध्यक्ष सुरज ओझा बताउँछन् ।

‘डढेलोले गर्दा बासस्थानमा असर पर्ने भो । डढेलोका कारण प्राणीहरू जलेर मर्ने पनि हुन्छ । वनस्पतिमा पनि क्षति पुग्छ’–उनले फोनसम्पर्कमा भने । मङ्गलबार र बुधबार मात्रै फुङ्लिङ नगरपालिका–४ र ७ मा पर्ने तोक्मेडाँडा सामुदायिक वनमा डढेलो लागेको छ । १४ हेक्टर क्षेत्रफल रहेको वनको ‘१ नम्बर ब्लक’ मा डढेलो लागेको सामुदायिक वनका अध्यक्ष प्रेम पालुङ्वाले जानकारी दिए ।

उनका अनुसार करिब ५ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । मङ्गलबार २ बजेबाट सुरु भएको डढेलो केही घण्टामा नियन्त्रणमा लिए पनि फेरि बुधबार पनि आगो फैलिएको उनले जानकारी दिए । मानव बस्ती प्रभावित हुने देखेपछि तत्कालै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र उपभोक्ता समितिले आगो नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

फुङ्लिङ नगरपालिकाको वारुणयन्त्रको सहायतामा मात्रै आगो नियन्त्रणमा लिन सफल उनको भनाइ छ । ‘२०७७ सालमा पनि डढेलो लागेको थियो, गतवर्ष चाहिँ हामीले सबैतिर पहल गरेकाले डढेलो लाग्न पाएन । यसपटक लामो खडेरी भएकाले पनि कसैले आगो लगाइदिएछ’ उनले भने, ‘आगो लगाउने मानिसको खोजी भइरहेको छ ।’

फुङ्लिङ नगरभित्र अर्थात् बजार छुने गरी तीनवटा सामुदायिक वन छन् । तोक्मे डाँडा वनसहित तारेभीर र वनथुम्की सामुदायिक वन रहेका छन् । जहाँ वनसँगै केही बस्तीहरू पनि पर्छन् । वनमा डढेलो लाग्दा वन संरक्षणभन्दा पनि मानव बस्ती संरक्षणमा बढी ध्यान दिनुपर्ने अवस्था आउने गरेको स्थानीय डीबी पालुङ्वाले फोनमार्फत् बताए ।

यसपटक चाहिँ दोखु भन्ने क्षेत्रबाट डढेलो सुरु भएको थियो । महासङ्घका ओझाले भने, ‘आगो कसरी सुरु भयो त्यो चाहिँ पत्तो पाइएन, पक्कै पनि मान्छेले नै लगायो होला । यसले लगायो, उसले लगायो भन्ने पत्ता पाइएको छैन । आगो त्यतिकै लाग्ने कुरा भएन ।’ उक्त वनक्षेत्रमा दुम्सी, मृग र सालकहरू रहेका छन् ।

विशेषगरी सल्लाको रुख मात्रै पाइने भएकाले त्यहाँ अन्य वनस्पतिजन्य रुखहरू नभएको अध्यक्ष पालुङ्वा बताउँछन् । डढेलो लाग्दा मानव बस्ती पनि प्रभावित हुने सम्भावना भएकाले सचेत गराउन आवश्यक देखिएको उनको भनाइ छ । नगरकी उपप्रमुख भीमादेवी ओझाले आगो के कारणले फैलिएको भन्ने खुल्न नसके पनि निगरानी बढाउनका लागि निर्देशन दिइएको बताइन् ।