पछिल्ला केही दिनयता सुनसरी र आसपासका क्षेत्रमा भएका शृङ्खलाबद्ध सडक दुर्घटनाहरुले हामीलाई सोच्न बाध्य पारेका छन् । एकपछि अर्को गर्दै भएका यी दर्दनाक घटनाहरुले धेरै परिवारमा कहिल्यै नमेटिने पीडा थपेका छन् । शनिबार इटहरी–धरान सडक–खण्डमा भएको दुर्घटनामा दुई युवाको निधन भएको दुई दिन नबित्दै सोमबार बिहान सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा भएको अर्को ठूलो दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । यो केवल तथ्याङ्क मात्र होइन; यो हाम्रो समाजको एक भयानक वास्तविकता पनि हो । जसलाई अब नजरअन्दाज गर्न सकिँदैन ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले यी दुर्घटनाहरुको मुख्य कारण तीव्र गतिलाई औँल्याएको छ । राजविराज–विराटनगर रुटमा चल्ने माइक्रोबसहरुमा यात्रु कोचेर तीव्र गतिमा गुड्ने प्रवृत्ति नयाँ होइन । यसअघि पनि पटक–पटक यही रुटमा दुर्घटनाहरु भइरहेका छन् । यस्तो अवस्थामा पनि सम्बन्धित निकायहरुले किन प्रभावकारी कदम चाल्न सकेका छैनन् भन्ने प्रश्न स्वभाविकरुपमा उठ्छ । इनरूवा–दुहबी सडक–खण्डमा ‘टाइम कार्ड’ लागू भए पनि त्यसको कडाइका साथ कार्यान्वयन हुन नसक्नुले दुर्घटनाहरु बढ्दै गएको देखिन्छ ।
सडक दुर्घटनाका कारणहरुमा चालकको लापरबाही, सडकको कमजोर अवस्था, सवारी साधनको प्राविधिक कमजोरी र ट्राफिक नियमको पालनामा कमीलगायतका पक्षहरु पर्छन् । यी सबै पक्षहरुलाई सम्बोधन गर्नका लागि सरकार, ट्राफिक प्रहरी र स्वयम् यात्रुहरुको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । केवल कानून बनाएर मात्र हुँदैन; त्यसको सशक्त कार्यान्वयन हुनु जरूरी छ ।
हामीले कहिलेसम्म आफ्ना प्रियजनहरुलाई यसरी नै सडक दुर्घटनामा गुमाउनु पर्ने ? दुर्घटना हुनुअगावै रोकथामका उपायहरु अपनाउन ढिला भइसकेको छ । सरकारले सडक सुरक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्छ । ट्राफिक प्रहरीले नियमनलाई अझ सशक्त बनाउनुपर्छ र यातायात व्यवसायीहरुले यात्रुको जीवनप्रति जिम्मेवार बन्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा यात्रुहरु पनि सचेत हुनुपर्छ ।
दुर्घटनाहरुको यो शृङ्खलाले हामीलाई एकैसाथ धेरै कुरा सोच्न बाध्य बनाएको छ । के हाम्रो सडक पूर्वाधार सुरक्षित छ ? के हाम्रा चालकहरु पर्याप्त प्रशिक्षित र जिम्मेवार छन् ? के ट्राफिक नियमको पालना पर्याप्त कडाइका साथ भइरहेको छ ? जबसम्म यी प्रश्नहरुको ठोस जवाफ र समाधान भेटिँदैन, तबसम्म यस्ता दुर्घटनाहरु दोहोरिरहनेछन् । अब मौन बस्ने समय छैन; सडक सुरक्षालाई सुनिश्चित गर्न सबै सरोकारवालाहरुले तत्कालै कदम चाल्नुपर्ने बेला आएको छ ।