धरान । कोशी प्रदेश सरकारको लगानीमा निर्माण भएका तीनवटा डिप बोरिङ र इलेक्ट्रोमेकानिकल कार्यको स्थलगत अनुगमन गरिएको छ ।
सोमबार प्रदेश सरकार र धरानका जनप्रतिनिधिसहितको एक टोलीले अनुगमन गरी आयोजनाको अवस्थाबारे जानकारी लिएको हो । अनुगमन टोलीमा प्रदेश सांसद्द्वय रमेशकुमार बस्नेत र विजयकुमार राई, धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई, उपप्रमुख अइन्द्रविक्रम बेघा, कोशी प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका सचिव प्रदीप बान्तवा, धरान खानेपानी बोर्डका निर्देशक राजु पोखरेललगायतको उपस्थिति थियो । टोलीले सेउती पुलदेखि बोरिङस्थलसम्म पुगेर पानीको उत्पादन र अन्य प्राविधिक पक्षबारे जानकारी लिएको थियो ।
कोशी प्रदेश सरकारले धरानको खानेपानी समस्यालाई सम्बोधन गर्नका लागि दुई आर्थिक वर्षमा बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०८०÷०८१ तीनवटा डिप बोरिङका लागि कुल ४ करोड रुपैयाँ विनियोजन भएको थियो । यो काम ठेक्कामार्फत् एक करोड ५१ लाख ४५ हजार ९ सय ९ रुपैयाँमा सम्पन्न भइसकेको छ । यस्तै आर्थिक वर्ष २०८१/०८२ मा बोरिङबाट निकालिएको पानीलाई वितरण प्रणालीमा जोड्न आवश्यक इलेक्ट्रोमेकानिकल कार्यका लागि ३ करोड ३० लाख बजेट विनियोजन गरिएको थियो । उक्त काम ठेक्कामार्फत् दुई करोड ७९ लाख ४० हजार ४१ रुपैयाँमा सकिएको छ ।
तीनवटा बोरिङमध्ये दुईवटा कोशी राजमार्गको धरान–इटहरी सडक–खण्डको जङ्गलमा र एउटा धरान–१७ कुम्भीआहाल क्षेत्रमा निर्माण गरिएको छ । बोरिङको ठेक्का श्रीमन कन्स्ट्रक्सन प्रा.लि.ले पाएको थियो । प्रा.लि.ले २०८० सालको माघबाट काम सुरु गरेर २०८१ को असार मसान्तसम्ममा सकेको थियो । दैनिक हाल ४० देखि ४५ लाख लिटर पानी थपिने अनुमान गरिएको छ । “अनुगमन गर्ने काम भयो । सामान्य हेर्ने काम भयो । फायरलाइनमा चाहिँ पानी खोलेर नै हेर्ने काम भयो” प्रदेश सांसद् रमेश बस्नेतले भने, “परीक्षण गरेर लेखालगायतको काम हेरेर मात्रै लिने भन्ने भएको छ ।” उनका अनुसार प्रत्येक दिन तीनवटा पम्पबाट ४५ देखि ५० लाख लिटर पानी आउँछ ।
मन्त्रालयका मेकानिकल इन्जिनियर निश्चल पोखरेलले बोरिङसँगै १ सय केभिएको डिजेल जेनेरेटर, कन्ट्रोल प्यानल बोर्ड र एउटा स्पेयर पम्प पनि जडान गरिएको जानकारी दिए । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले काम सबै सम्पन्न भए पनि उपमहानगरले लिने बेलामा प्राविधिक जाँच र अडिट गराई क्लियर गराएर मात्रै लिने भन्ने भएको बताए । उनले भने, “मेयरज्यूले प्राविधिक जाँच र अडिट गराएर मात्रै लिने भन्नुभएको छ । सोहीअनुसार गरेर लिने भन्ने एक खालको कुराकानी भयो ।”
उनका अनुसार प्राविधिक जाँच र आर्थिक अडिट गरेपछि तुरुन्तै जोड्ने भन्ने भएको छ । प्रदेश सरकारको पहल धरानको खानेपानी समस्या समाधान गर्ने कार्य भए पनि अझै केही प्राविधिक र व्यवस्थापकीय कार्य बाँकी रहेको छ । धरान खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोखरेलले भने, “अनुगमन मात्रै भयो । अरू केही भएको छैन । सबै काम सम्पन्न भएपछि मात्रै हस्तान्तरण हुन्छ ।”