देउराली । हाइटेन्सन पीडितहरूले धरान उपमहानगरपालिकामा प्रतिवेदन बुझाएका छन् ।
उपमहानगरपालिकाको विभिन्न वडामा रहेको हाइटेन्सन लाइनका पीडितहरूले त्यसको वैकल्पिक व्यवस्थापनको सुझाव सहित उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईलाई बिहीबार प्रतिवेदन बुझाएको हो ।
यस अघि माघ १२ गते नगर प्रमुख राईले पीडितहरूसँग छलफल गरी घना बस्तीबाट हाइटेन्सन् स्थानान्तरण गर्न एक समिति गठन गराएका थिए । १० दिन भित्र प्रतिवेदन बुझाउने गरी गठन भएको उक्त समितिले विभिन्न वडाको घना बस्ती भित्र रहेको हाइटेन्सनको स्थानान्तरणको सम्भाव्यता अध्ययन गरी वैकल्पिक व्यवस्थापनको सुझाव प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा ३३ केभिए लाइनलाई हरियाली सब स्टेसनबाट तीनकुने–साकेला चोक हुँदै जगलक्षेत्रबाट सेउती खोलाको १५ नम्बर वडा तर्फको किनाराबाट उकालो लगी काठे पुल हुँदै शिवधार तथा भालु खोलाको किनाराबाट शिखर बाससम्म जोड्न सकिने बताइएको छ ।
त्यस्तै , ११ केभिएका लागी भने हरियाली सब स्टेसनबाट दक्षिण तर्फ बन्द गरेको मदन भण्डारी राजमार्गको दक्षिण तर्फ सार्न सकिने बताएको छ ।
समितिले प्रतिवेदन बुझाएसँगै त्यसको स्थलगत अध्यायनका लागी नगर प्रमुख राईको संयोजकत्वमा सम्बन्धित वडाका वडाध्यक्ष, समितिका प्रतिनिधि तथा प्रधिकरणका प्रतिनिधिले फागुन ४ गते स्थलगत निरिक्षण गर्ने भएको छ ।
धरान उपमहानगरपालिकाको ४, १३, १४ र १५ मा दुहबीबाट धनकुटा लगिएको ३३ केभिए हाइटेन्सन लाइन रहेको छ, भने वडा नम्बर ८, १९, ५ र ६ मा ११ केभी हाइटेन्सन रहेको छ ।
तात्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको समयमा विस्तार गरिएको ३३ केभिए हाइटेनसन् बाट करेन्ट लागेर १५ जनाको मृत्यु भइसको सम्भाव्यता अध्ययन समितिका संयोजक वडा १३ का जीवनदिप सुब्बाले बताए । करेन्ट लागेर आफै पनि घाइते भएका सुब्बाका अनुसार ३३ केभिए हाई टेन्सनबाट धरानमा २९ बिघा क्षेत्रफलमा ९५० घर धुरीका करी २५ सय प्रत्यक्षमा रहेका छन् ।