सुनसरी । सुनसरीको कोसी गाउँपालिकामा चिकेन पक्स अर्थात् ठेउला रोग फेला परेको छ । अनौपचारिक रूपमा दादुरा रोग फैलिएको सूचना पाइए पनि बुधबार स्थलगत अनुगमन गर्दा कोसी गाउँपालिका वडानम्बर ७ स्थित हरिपुरमा ठेउला रोग फेला परेको हो ।

शरीरको छालामा पानी फोका आउनुलाई ठेउला रोग भनिन्छ । यो पनि सरुवा रोग नै हो । दादुरा रोगको शङ्का लागेर स्थलगत अनुगमन गर्ने क्रममा ठेउला रोग फेला परेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख डा.सागर प्रसाईंले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख, युएन क्षेत्रीय कार्यालय धनकुटाका प्रतिनिधि, कोसी गाउँपालिका क्षेत्रका स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधिको टोलीले अनुगमनको क्रममा सो रोग फेला पारेको हो ।

‘दादुरा रोग पाइएको सूचना प्राप्त भएपछि सोही कुरालाई पुष्टि गर्न अनुगमनमा गएका थियौँ’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.प्रसाईंले भने, ‘अनुगमनका क्रममा भने अर्कै रोग फेला परेको छ ।’ ५–७ वटा घरमा अनुगमन गर्दा परिवारका ६–७ जना सदस्यमा चिकेन पक्स अर्थात् ठेउला रोग भेटिएको उनको भनाइ छ ।

सरुवा रोग भएकाले तत्कालै ठेउला देखिएका बिरामीहरूलाई होम आइसोलेसनमा बस्न आग्रह गरिएको डाक्टर प्रसाईंले बताए । ‘चिकेन पक्स अर्थात् ठेउला रोग भनेको सरुवा रोग हो’ उनले भने, ‘त्यसैले अनुगमनका क्रममा सो रोग देखिएका व्यक्तिहरूलाई दुईहप्ता घरमै एकान्तमा बस्न आग्रह गरेका छौं ।’

सुनसरीको बर्जु गाउँपालिका क्षेत्रमा पनि ठेउला रोगका बिरामी देखिएको सूचना प्राप्त भए पनि आधिकारिक पुष्टि हुन भने बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । कोसी गाउँपालिका वडानम्बर ७ स्थित हरिपुरमा छ महिनादेखि १५ वर्ष उमेर समूहका व्यक्तिहरूमा ठेउला रोग देखापरेको कोसी गाउँपालिका वडानम्बर ७ स्थित स्वास्थ्य चौकीका प्रमुख जमिल अख्तरले जानकारी दिए ।

सुरुमा दादुरा रोगको अनौपचारिक सूचनाअनुसार घटनास्थलमा पुग्दा भने ठेउला रोग फेला परेको बताउँदै उनले यो रोग आफै निको हुने र यसको उपचार तत्काल नभएकाले सजगता अपनाउन आग्रह गरिएको बताए ।