धरान । धरानमा प्रदेश १ स्तरीय अन्तरकलेज बास्केटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा अल्फाबिटा कोयला एजुकेसन कन्सल्टेन्सी रहेको छ ।
धरान बास्केटबल सङ्घले बुधबार पत्रकार सम्मेलन गरी फागुन ५ गतेदेखि अल्फाबिटा अन्तरकलेज महिला तथा पुरुष बास्केटबल प्रतियोगिताको दोस्रो संस्करण गर्न लागेको हो ।
फागुन १२ गतेसम्म हुने प्रतियोगितामा पुरुषको १२ र महिलाको ८ टिम सहभागी हुने अनुमान गरिएको छ । प्रतियोगिता संयोजक विकास चाम्लिङ राईका अनुसार धरान, इटहरी, झापा, मोरङ, इलाम, उदयपुर र धनकुटा जिल्लाका कलेजबाट टिमहरू आउने अनुमान गरिएको छ ।
बास्केटबल खेललाई व्यावसायिक बनाउन प्रतियोगिता गर्न लागिएको सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । प्रतियोगितामा कक्षा ६ देखि स्नातकसम्मका विद्यार्थीहरू सहभागी हुन पाउने नियम बनाइएको छ । पुरुषको उमेर २३ वर्ष मुनी हुनुपर्ने प्रावधान छ भने महिलालाई खुला गरिएको छ ।
विजेता छात्र टिमले नगद ३० हजार रुपैयाँ र उपविजेता टिमले नगद १५ हजार रुपैयाँसहित ट्रफी पाउनेछ भने छात्रा टिमले नगद २० हजार र उपविजेताले नगद १० हजार रुपैयाँ पाउने जनाइएको छ । विधागत पुरस्कार पनि दिइने भएको छ ।
फाइनल खेलअगि प्रकाश पौडेल महिला पुरुष थ्री पोइन्ट प्रतिस्पर्धा पनि हुने जनाइएको छ । विजेताले नगद ३ हजार रुपैयाँ पाउनेछ । यस प्रतियोगिताका लागि गायक तथा पूर्व बास्केटबल खेलाडी प्रकाश पौडेलले प्रायोजन गरेका हुन् ।