हङकङ : नेपाली समाजको उत्थानका लागि काम गरिरहेको संस्था हङकङ नेपाली अल्पसंख्यक सङ्गठनले हालै वातावरणीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली समुदायका बालबालिकालाई वातावरण स्वच्छताका साथै जलवायु परिवर्तनको प्रभाव बारे सचेतना जगाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताइएको छ । कार्यक्रममा प्राथमिक विद्यालय तहका बालबालिका र युवाहरु गरी ३० जना सहभागी थिए । उनीहरुले हङकङको तुईन्मुन स्थित बटरफ्लाई तटिय क्षेत्रमा सरसफाई समेत गरेका थिए । 

उनीहरुलाई व्यक्तिगत रुपमा पनि कसरी जलवायु परिवर्तन विरुद्ध लड्न र पृथ्वीलाई बचाउन मद्दत गर्न सकिन्छ भन्ने जानकारीहरु गराइएको संगठनकी अध्यक्ष शिला घमालले बताईन् । सरसफाईमा सहभागीहरुलाई संगठनले टिसर्ट प्रदान गरेको थियो भने उनीहरुलाई सरसफाईका नियमहरु, स्वास्थ्य सुरक्षा निर्देशिका र प्राथमिक उपचारको व्यवस्था बारे पनि जानकारी गराइएको थियो ।

सन् २००२मा स्थापना भएको संगठनले अल्पसंख्यकहरुको हक अधिकारका साथै बालबालिका तथा युवाहरुको शिक्षा र विकासका लागि योजनाहरु निर्माण गर्न सहयोग गर्दै आएको छ ।

hk