विराटनगर । ११ औं संस्करणको हिसान स्पोर्टस् मिट अन्तर्गत विभिन्न खेलहरूमा चार वटा कलेजले उपाधि जितेका छन् । सोमबार राती सम्पन्न भएको फाइनलमा फुटबलमा विराटनगरमा रहेको कोशी क्याम्पस, भलिबल छात्रामा अर्किड, सोही विधाको छात्रमा मोर्डन ऐरा र क्रिकेटमा कान्तिपुर कलेजले उपाधि जितेको हो । 

फुटबलको फाइनलमा कोशी क्याम्पसले मोडन एरा कलेजलाई २–० को गोल अन्तरले पराजित गरि उपाधि जितेको छ । कोशीको जितमा प्रदिप तामाङ र गौरभ धिमालले गोल गरे । फाइनल खेलको म्यान अफ द फाइनल कोशीका प्रदिप तामाङ घोषित भए । त्यस्तै हाइ स्कोर मर्डन एराका नविन चौधरी र कोशीका सुरज लिम्बु भए । दवैले ५–५ गोल गरे । त्यसैगरी उत्कृष्ट किपर कोशीका धिरेन्द्र परियार, प्रतियोगिताकै उत्कृष्ट खेलाडि कोशीका गौरभ धिमाल तथा अनुशाशित टिम पथरिको रेड स्टार कलेज भयो ।

सोमबार विहान भएको भलीबलको छात्राको फाइनलमा अर्किड कलेजले कोशी कलेलाई २–० को सोझो सेटले पराजित गरि उपाधि जितेको छ । उत्कृष्ट स्पाइकर अर्किडका रोशिका बराइली घोषित भइन् भने उत्कृष्ट लिफ्टर अर्किडकी ललिता मगर तथा उत्कृष्ट फिेण्डर कोशीकी सविना माझी घोषित भइन् ।

त्यस्तै भलिबल छात्रको फाइनलमा मर्डन एरा कलेजले कान्तिपुर कलेजलाई २–१ को सेटले पराजित गरेको छ । उत्कृष्ट स्पाइकर मोर्डन एराका अर्जुन विक, उत्कृष्ट लिफ्टर मोर्डन एराका सविन तामाङ र उत्कृष्ट डिफेण्डर कान्तिपुरका  सुर्लशन लिम्बु भए ।

अस अघि साविक विजेता कोशी क्याम्पसलाई फराकिलो रन अन्तरले पराजित गर्दै कान्तीपुर कलेज हिसान क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा कान्तिपुरले साविक विजेता कोशी क्याम्पसलाई ९८ रनको फराकिलो अन्तरले पराजित गदै हिसान क्रिकेटको च्याम्पियन बनेको हो ।

हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको फाइनलमा टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ३७ रनको विशाल योगफल तयार पारेको थियो । कान्तिपुरका जितमा निशान्त यादवले ४० रन, भोला सेठले २७ रन, कृष्ण गुप्ताले २५ रन र नवराज संग्रौलाले १५ रनको योगदान दिए । कोशीका सुमन पासवान र अमित राँयले १–१ विकेट लिए ।

जवाफमा १ सय ३८ रनको विशाल लक्ष्य पछ्याएको  कोशीले कान्तीपुरको बलरसामु घुँडा टेक्दै १३ ओभरमा सवै विकेट गुमाई ३९ रनमा सिमित भयो । कोशीका  सुमन पासवानले १० रन बाहेक अरु ब्याटरले कान्तिपुरका बलरसामु टिकेर खेल्ल सकेनन् । कान्तीपुरका म्यान अफ द फाइनल कान्तीपुरमा राज वर्माले ४ ओभरमा ९ रन दिएर ७ विकेट लिँदा अफुदिन रेनले २ विकेट लिए । प्रतियोगिताको उत्कृष्ट खेलाडि कान्तपिुरका राज वर्मा घाषित हुँदा कान्तीपुरकै अविशेक मण्डल उत्कृष्ट बलर भए । त्यस्तै कोशीका अमित राँय उत्कृष्ट ब्याटर घोषित भए ।

विजयी तथा सहभागिलाई हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलबार, केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, केन्दीय सदसस्यहरु राजेश कार्की,बलराम पन्त र शैकर भट्टराई, प्रदेश अध्यक्ष जानबहादुर खडका, प्रदेश सचिव दिनेश बास्तोला र जिल्ला अध्यक्ष अमित ढकाललगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।