बेलबारी । हिजो आज ‘सडक दुर्घटना’ शिर्षकको समाचार आम मानिसमा सामान्य बन्दै गएको महसुस गर्न सकिन्छ । साघुरो राजमार्गमा सवारी साधनको चाप । साँघुरा सडकमा तिब्र गती त्यस माथि पैदल यात्रु र सडकका खाल्डाखुल्डी । जोखीमै जोखीमका बिचमा सवारी चालक गन्तब्य लिईरहेका छन् ।

 केही दिन अघि मोरङको सुन्दरहरैंचामा टिफरको ठक्करबाट १८ महिनाको बालिका अननिया चौधरीको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार सुन्दरहैँचा १२ को भित्री सडकमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको को १ ख ६८२५ नम्बरको टिफरले ठक्कर दिँदा बालिकाको घटना स्थलमा नै मृत्यु भएको जनाएको छ । वालिका अननिया चौधरीले जस्तै धेरैले सडक दुर्घटनाको कारण ज्यान गुमाउनु परेको छ ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङ्क हेर्दा यस आर्थीक वर्षको ६ महिनामा मात्र प्रदेशभर २ सय ५ जनाको सवारी दुर्घटनाकै कारण मृत्यु भईसकेको छ । जसमा १ हजार ७ सय ७४ दुर्घटना भएकोमा ४ सय १७ जना गम्भिर घाईते अवस्थामा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

गत आर्थीक वर्ष र यस आर्थीक वर्षको श्रावण महिना देखी षौष मसान्त सम्मको अर्धवार्षीक सवारी दुर्घटना विश्लेषण गर्दा चालु आर्थीक वर्षमा ७.२६ प्रतिशतले सवारी दुर्घटनामा कमी आएको र २०.२३ प्रतिशतले मृत्युदरमा कमी आएको कार्यालयले जनाएको छ ।

गत आर्थीक वर्षको श्रावण महिना देखी षौष मसान्त सम्ममा १ हजार ९ सय १३ सवार दुर्घटना हुँदा २ सय ५७ जनाको मृत्यु भएको थियो । निरन्तर सवारी चालक सम्बन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालनमा ल्याएकोले पनि दुर्घटनामा केहि कमि आएको हुनसक्ने प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

गत आर्थीक वर्ष र यस आर्थीक वर्षको श्रावण महिनादेखी पौष समान्त सम्म अर्धवार्षीक जनचेतना कार्यक्रम संचालन तर्फ ४३.४३ प्रतिशतले वृद्धी भएको र लाभान्वित संख्या तर्फ २३.७ प्रतिशतले वृद्धी भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

साघुरो सडकमा सवारी धेरै भएकोले पनि दुर्घटना न्युनिकरणमा समस्या भएको पुर्वी नेपाल यातायात प्रा.ली. का अध्यक्ष राजु श्रेष्ठले बताए । उनका अनुसार तराईका सडकमा बढ्दो सिटि सफारीको चापका कारण पनि ठुला गाडी कुदाउन समस्या भएको र दुर्घटनाको जोखीम बढेको बताए ।

तिब्र गतिमा आउने ठुला सवारीसाधन संग साघुरो सडकमा जोगिएर मोटरसाईकल कुदाउन निक्कै गाह्रो पर्नेगरेको मोरङ पथरी शनिश्चरेका प्रेम गुरुङ बताउछन् । आफुलाई जस्तै अरु साना दुईपांग्रे सवारी चालकलाई यस्तै समस्या रहेको उनले बताए ।