धरान । सप्तरीको अग्निसार कृष्ण सवन गाउँपालिकास्थित जण्डौलमा निःशुल्क बाल स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

गत बिहीबार स्थानीय आशिष इङ्लिस बोर्डिङ स्कुल र विजयपुर नेटवर्क प्रालि धरानको सहकार्यमा भएको स्वास्थ्य शिविरमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहले बालबालिकाहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा १ सय ९ बालबालिकाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । डा. सिंहलाई स्वास्थ्यकर्मीहरू प्रशान्त थापा(एचए), प्रकाश थापा(अहेव) र सङ्गीता चौधरी(अहेव)ले सहयोग गरेका थिए । डा. सिंहको पहलमा शिविरमा आएका बालबालिकाहरूलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

डा. सिंहका अनुसार शिविरमा आएका बालबालिकाहरूमा निमोनिया, जुका, लुतो, छालासम्बन्धी समस्या, एलर्जी, दम, झाडापखाला, दाँतलगायतको समस्या भएको पाइएको थियो ।

जटिल समस्या भएका बालबालिकाहरूलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको डा. सिंहले बताए । विद्यालयलाई मास्क, सेनिटाइजर, औषधिसमेत उपलब्ध गराइएको थियो ।