विजयपुर । २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधि धरान–१७ ले हात पारेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा धरान वडा नं. १५ लाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । योसँगै गोधुलीको उपाधि १७ नं. ले चौथो पटक जितेको हो । उपाधिसँगै धरान–१७ ले १ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गरेको छ ।

उपविजेता धरान–१५ ले नगद ७५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । विजेता तथा उपविजेता दुवै टिमलाई धरान वडा नं. १८ का वडाध्यक्ष प्रवीणकुमार राई र उनका बुबा ध्यानबहादुर राईले नगद २५–२५ हजार रुपैयाँ पुरस्कार थपिदिएका छन् ।

विधागत पुरस्कारतर्फ पनि धरान–१७ ले वडाको वर्चस्व रहेको छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी १७ नं. कासविन राई घोषित भए । उनले नगद १५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता धरान–१४ का सरोज राई घोषित हुँदै नगद ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे । उनले प्रतियोगितामा ६ गोल गरेका थिए । प्रतियोगिताको बेस्ट डिफेन्स धरान–१७ का सौजन राई, बेस्ट गोलकिपर सुजन राई, बेस्ट मिड फिल्डर सुशील राई, बेस्ट स्ट्राइकर कृष्ण राई, बेस्ट कोच योगेन राई र राइजिङ प्लेयर साहिल राई घोषित भए ।

फाइनल खेलको म्यान अफ द म्याच धरान–१५ का नगेन राई घोषित भएका थिए । उनीहरूलाई नगद ५५ सय र मेडल प्रदान गरिएको थियो ।  प्रतियोगिताका विजेता खेलाडीहरूलाई धरान उपमहानगरका प्रमुख हर्कराज राई, उपप्रमुख अइन्द्रविक्रम बेघा, एन्फाका मानार्थ उपाध्यक्ष किशोर राईलगायतले पुरस्कार वितरण गरे । पुस ३० गतेदेखि सुरु भएको थियो । धरान रङ्गशालामा सञ्चालन भएको प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको थियो ।

प्रतियोगिताको आयोजना धरानको गोधुली क्लबले गरेको हो । धरान १७ नं. वडा कार्यालय र धरान–१७ समाज हङ्कङ एवम् सेन्ट जोसेफ स्कुले सह–प्रायोजन गरेका थिए ।