धरान । अघिल्लो संस्करणको विजेता धरान–१६ सेमीफाइनलमा पराजित भएसँगै उपाधि होडमा तीन पटकको विजेता धरान–१७ र एक पटकको विजेता धरान–१५ बीच भेट हुने भएको छ ।

धरान–१७, अठारौँ, १९ औँ र २० औँ टुबोर्ग गोधुली रनिङ कप उचाल्न सफल टिम हो । यता धरान–१५, चौधौँ संस्करणको विजेता हो । भौगोलिक र जनसाङ्ख्यिक हिसाबमा धरान–१५ प्रतिस्पर्धी वडा धरान–१७ भन्दा ठूलो छ ।

तर, खेलाडी उत्पादनका हिसाबमा धरान–१५ कमजोर रहँदै आएको छ । २०५० सालदेखि जारी गोधुली फुटबल रनिङ कपमा जादु देखाउन नसकेको धरान–१५ लाई अङ्क बढाउने उत्कृष्ट अवसर छ । स्मरणीय के छ भने धरान–१५ स्वर्गीय सुवास राई स्मृति फुटबल लिगको विजेता टिम हो ।

यता धरान–१७ ले आफूलाई फेरि एकपटक विगतमा तीन प्रतियोगिता उचालेको स्मरण गराउनु पर्नेछ । माघ १४ गते धरान रङ्गशालामा हुने उपाधि होडमा यी वडालाई नयाँ चुनौती पनि छ । किनकि यही खेलबाट यसपटक बूढासुब्बा गोल्डकपमा अधिकांश खेलाडीहरू पर्ने सम्भावना छ ।

२३ औँ संस्करणको सङ्घर्षका लागि धरान–१५ ले पहिलोपटक सेमिफाइनलमा पुगेको धरान–५ माथि सहज जित हात पा¥यो । उसले २–० गोलले हरायो । खेलको ३६ औँ मिनेटमा सुगम जिमीले गोल गर्दै अग्रता बनाए । दोस्रो गोलको लागि धरान–१५ ले ४० मिनेट पर्खिनु परेको थियो ।

दोस्रो गोल ७६ औँ मिनेटमा अनिष राईले गरेका थिए । यता गतवर्षको विजेता धरान–१६ लाई पनि धरान–१७ ले सहजै जित्यो । उसले ३–० गोलले हरायो । धरान–१७ का मिलन राईले व्यक्तिगत दुई गोल गर्दा सुशील राईले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको धरान–१६ ले दोस्रो हाफमा लय समात्न सकेन । फलतः सातौँ मिनेटमा डिबक्सभित्र मिलन राईलाई लडाएपछि पाएको पेनाल्टी उनले खेर फालेनन् ।

लगत्तै १७ औँ मिनेटमा सुशील राईले अग्रता दोब्बर बनाए । पुनः २७ औँ मिनेटमा मिलन राईले टिमलाई तेस्रो गोल गर्दा व्यक्तिगत दुई गोल गरे । यसपटकको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ पाउनेछन् । यस्तै विधागततर्फ नगद ५ हजार रुपैयाँ पाउनेछन् ।