कुनै समय खोटाङको उत्पादन भन्नेबित्तिकै घङ्गरुको लौरोको पहिचान थियो । भ्रमण या अन्य सरकारी कामकाजमा यहाँ आउने अतिथिलाई मायाको चिनोस्वरुप घङ्गरुको आकर्षक लौरो उपहार दिने गरिन्थ्यो ।

छिमेकी जिल्ला भोजपुरको खुकुरी र ओखलढुङ्गाको राडीपाखी त्यहाँको चिनारी भएजस्तै खोटाङमा यही लौरो थियो । समाउने ठाउँमा चरा, सर्प तथा माछाको कलात्मक स्वरुप भएको उक्त लौरो उपहार पाउँदा जिल्ला आउने अतिथिहरु खुसी हुने गरेको स्थानीय बताउछन् ।

लौरोको डण्डीमा खोटाङ तथा नेपालको नक्सा, लालीगुराँस, सर्वोच्च शिखर सगरमाथा, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पक्षी डाँफे, राष्ट्रिय रङ सिम्रिकका तस्बिर हुन्थे र नेपालको राष्ट्रिय गान पनि लेखिएको हुन्थ्यो । तर पछिल्लो समय लौरो बनाउने कालीगढको अभाव हुन थालेपछि खोटाङलाई चिनाउने घङ्गरुको लौरो लोप हुँदै गएको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका मिलन चाम्लिङले दिक्तेल बजारमा भण्डै तीन दशक पहिले ‘चाम्लिङ ह्याण्डीक्राफ्ट सेन्टर’ सञ्चालन गरेका थिए । उनले स्थापना गर्दा ‘यो मेरो टेक्ने, यो मेरो छेक्ने, परी आए पुर्पुरो सेक्ने’ भने लौरोको नारा नै बनाएका थिए।सुरुमा व्यावसायिकजस्तो नभएको उनको सीप विस्तारै उद्योगका रूपमा फस्टाएको थियो । 

चाम्लिङले बनाएको लौरोले देशविदेशका नागरिकलाई सहारामात्र दिएन खोटाङका भगिन्द्र विश्वकर्मा र नारायण विश्वकर्मालाई रोजगारी पनि दिएको थियो । उनले जिल्लामा केहीलाई काम पनि सिकाउनु भएको थियो ।

तर चाम्लिङकाठमाडौँ छिरेपछि उनिसँगै लौरो उत्पादन व्यावसायमा कमी आयो ।चाम्लिङ्बाट सिप सिक्नुभएका भगिन्द्र लौरो बनाउन सजिलो भएपनि आम्दानी कम भएर जीविकोपार्जन गर्न कठिनाइ भएपछि विदेशीनुभयो भने नारायणले पनि यो पेसामा निरन्तरता दिन सकेनन्।

चाम्लिङ्ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका दुइयुवा भीमबहादुर विश्वकर्मा र रवीन्द्र विश्वकर्मालाई पनि लौरो बनाउने तालिम दिएका थिए । उनिहरुमध्ये भीमबहादुरले पेशालाई निरन्तरता दिँदै दिक्तेलमा व्यावसाय सुरु गरे । बाँसबाट निर्माण गरिएका हस्तकलाको सामान र घङ्गरुलगायत काठको लौरोमा जनवारको सिङबाट बनाइएका समाउने भाग निकै आकर्षक देखिन्छ । तर यो व्यावसायबाट उहाँहरुको दैनिकी सहज नभएपछि भीमबहादुरले पनि पेसा छाडेर फर्निचर उद्योगको काम सुरु गरे।

चाम्लिङ्ले अहिले काठमाडौँमा चाम्लिङ ड्राइभिङ सेन्टर सञ्चालन गरेका छन् । घाङ्गरुको लौरोलाई व्यावसायिक प्रवद्र्धन गर्नउद्यमीलाई प्रोत्साहन गरी विदेशी स्टिलका लौरोको प्रयोगलाई न्यूनीकरण गर्न सकेको भए नेपाली लौरोले बजार लिने थियो । यसले स्थानीयलाई रोजगारी दिनुका साथै खोटाङको पहिचानलाई यथावत राख्न सकिने थियो । 

लामो समय सरकारी सेवामा रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२बसेखाका चन्द्रप्रसाद आचार्यले लौरो अभियान नै सुरु गरेका छन् । अहिले उनि लौरो अभियन्ताका रूपमा चिनिन्छन् । उनले बुढेसकालको एकमात्र साहारा लौरो भएकाले वृद्धवृद्धाको जीवन केही सहज बनाउने उद्देश्यले लौरो अभियान सुरु गरेको बताउछन् ।

उनले घङ्गरुको लाथ्रा बटुलेर खिप्न थाले । खिपेर बनाइएका लौरोहरु गाउँका ज्येष्ठ नागरिकलाई निःशुल्क बाँडे । एक सय आठ लौरो बाँड्ने योजना बनाएका आचार्यले अहिले एक हजार आठको लक्ष्य राख्दै अभियानका रुपमा अगाडि बढेका छन् ।

विसं २०३७देखि सरकारी सेवामा अवद्ध रहेका आचार्य, हाल लौरो उत्पादनमा निरन्तर लागिरहेका छन् ।आफूले जानेको लौरो खिप्ने सीपको सदुपयोग गर्दै वृद्धवृद्ध तथा अशक्तलाई उपलब्ध गराउँदा सेवा र धर्म दुवै हुने भएकाले यसलाई निरन्तरता दिएको उनले बताए ।

“लौरो आवश्यक भएको खबर आए र पुर्याइदिने माध्यम भए एक सय वर्ष नाघेका वृद्धवृद्धालाई मुलुकभित्रका जुनसुकै ठाउँमा पनि लौरो उपहार पठाइदिने गरेको छु,” उनले भने ।

मायाको चिनोका रूपमा लौरो दिने अभियानले खोटाङको पहिचानजोगाउन महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । यस अभियानलाई थप प्रभावकारी बनाउन स्थानीय सरकार तथा विभिन्न सङ्घसंस्थाले समन्वय गरी अभियान्तालाई प्रोत्साहन गर्नसके ‘घङ्गरुको लौरो’ लोप हुने थिएन ।